नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

(रासस/सिन्ह्वा) अबुजा, २० वैशाख
२० बैशाख २०७५ ०८:१३

नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ ।

देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्नो राज्यको राजधानी मैडुगुरीस्थित एक स्थानमा बोको हरामका १५ जना लडाकू मारिएको पुष्टि सैन्य प्रवक्ता ओन्येमा न्वाचुक्वुले गर्नुभयो ।

उहाँले साम्बीसा जंगलनजिकै परिसु भन्ने ठाउँमा गोली लागि शुक्रबार उनीहरुको मृत्यु भएको पनि जानकारी दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।

बोको हरामका लडाकूहरुलाई कारबाही गर्नका लागि सैन्य टोली गत सोमबार देखि नै घटनास्थलमा खटिएको न्वाचुक्वुले बताउनुभयो ।

नाइजेरियाको उत्तरपूर्बी क्षेत्रमा छुट्टै मुस्लीम राज्य स्थापनागर्ने भन्दै बोको हरामका लडाकूहरुले सन् २००९ देखि संघर्ष गरिरहेका छन् ।

उनीहरुको अहिलेसम्मको संघर्षका कारण झण्डै २० हजार जनाको मृत्यु भइसकेको छ भने अरु लाखौं विस्थापित भएका छन् ।