स्थानिय तहसँग सडक जोड्दै प्रदेश ३ सरकार
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग जोडीने गरी सडक संजाल बनाउन सुरु गरेको छ । नागरिकको सहज पहुँच पुर्याउन भन्दै ३ नम्बर प्रदेश सरकारले स्थानीय तह जोड्न सडक निर्माणको योजना बनाएको हो ।
प्रदेश सरकारले निति तथा कार्यक्रममा नै समेटेको मुख्यमन्त्री ग्रामीण सडक मार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम तथा नजिकैको लोकमार्गदेखि स्थानीयतहको मुकामसम्मका सडकलाई स्तरोन्नती गर्दै आगामी चार वर्षमा कालो पत्रे गर्ने यो संघीय सरकारले लिएको नीति बमोजिम नै ३ नं प्रदेश सरकारले स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक निर्माणका लागि लगानी गरेको छ ।
चालू आर्थिक बर्ष २०७६/७७ मा कार्यान्वयन हुने गरी ३ नं प्रदेश सरकारले १३ जिल्लाका २० वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने गरी सडक निर्माण तथा स्तरोन्नति गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा २० वटा स्थानीय तहका लागि बजेटको व्यवस्था गरिएको छ । राजमार्गबाट स्थानीय तहको केन्द्र पुग्ने बाटो निर्माणका लागि संघीय सरकारले पनि प्राथमिकता दिएकाले प्रदेश सरकारले पनि ध्यान दिएको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
मन्त्रालयले दिएका जानकारी अनुसार मकवानपुर जिल्लाका ३ वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकका लागि बजेट बिनियोजन भएको छ ।
त्यसैगरी धादिङका ३, सिन्धुपाल्चोकका ३, काभ्रेपलान्चोकका २, नुवाकोटका २, दोलखाका २, रामेछापका २ वटा स्थानीय तहको केन्द्रमा सडकको व्यवस्था गर्नका लागि बजेट बिनियोजन भएको छ । रसुवा, ललितपुर र सिन्धुलीका १/१ वटा स्थानीय तहमा चालू आर्थिक बर्षमा सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिका लागि बजेट बिनियोजन भएको मन्त्रालयले जनाएको छ । बिनियोजित बजेट खर्चेर तीनवटा स्थानीय तहमा नयाँ ट्रयाक खोलिनेछन् ।
धादिङको रुबिभ्याली पुग्ने नयाँ सडक निर्माण लागि ४ करोड, काभ्रेपलान्चोकको महाभारत गाउँपालिका पुग्ने सडकको नयाँ ट्रयाक खोल्ने कार्यका लागि ४ करोड र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगने ज्यामिरे सीतादेवी बाहुन डोडेनी सडकको नयाँ ट्रयाकका लागि १ करोड रुपियाँ बिनियोजित छ ।
स्तरोन्नतिका लागि छुट्याइएका १७ वटा स्थानीय तहको केन्द्र पुग्ने सडक योजनाहरुमा मकवानपुरको कैलाश गाउँपालिका केन्द्र कालिकाटार पुग्ने चुनियाँ–नामटार सडकका लागि ४ करोड, राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर पुग्ने मनहरी–चैनपुर सडकका लागि २ करोड र हेटौँडा उपमहानगरपालिका ५ बाट मकवानपुरगढीको केन्द्र मक्रान्चुली पुग्ने सडकका लागि १ करोड बिनियोजन भएको छ ।
नुवाकोटको छत्रेखोला सेराचौर मानेडाँडा दाङसिङ सडकमार्फत तारकेश्वर गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र निरन्जना–बाघखोर सडकमार्फत बेलकोटगढी नगरपालिका पुग्ने सडकका लागि ४ २ करोड रुपियाँ बिनियोजित छ ।
धादिङको पाल्पाभन्ज्याङ, साँधभन्ज्याङ सडक हुँदै ज्वालामुखी गाउँपालिका जोडिने सडकका लागि २ करोड र सिद्धलेक गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ छुट्टिएको छ । सिन्धुपाल्चोकको सुनकोशी–धुस्कुन–पिस्कर सडकमार्फत त्रिपुरासुन्दरी गाउँपालिका जोड्न ४ करोड र नौविसे–चौतारा सडक आयोजनाका लागि २ करोड रुपियाँ बिनियोजित छ ।
दोलखाको सित्ताली मेलु–माने बुद्धचोक ढाडेखोला सडकहुँदै मेलुङ गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र भोर्ले तिनेखु गाउँपालिका केन्द्र सडक आयोजनामार्फत गौरीशंकर गाउँपालिका पुग्ने सडक स्तरोन्नतिका लागि १ करोड रुपियाँ बिनियोजित छ ।
रोमछापको कालो चौतारा सिंगटी गलभ च्यादलु सडकमार्फत उमाकुण्ड गाउँपालिका जोड्ने र खैरेनीघाट बेथान गाल्बा सडक आयोजनामार्फत सुनापति गाउँपालिका जोड्ने सडकका लागि ४/४ करोड रुपियाँ बिनियोजित छ ।
त्यसैगरी काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका जोड्ने भुम्लुटार–सल्ले सडक आयोजनाका लागि २ करोड, सिन्धुलीको पिप्लेभन्ज्याङ सिम्ले खटार हायुटार सडकमार्फत घ्याङलेख गाउँपालिका जोड्ने सडकका लागि ४ करोड र ललितपुरको गोदावरी नगरपालिकादेखि कोन्ज्योसोङ गाउँपालिका धेधरे जोड्ने सडक हुँदै कोन्ज्यासोङ गाउँपालिका पुग्ने सडकका लागि ४ करोड बिनियोजित छ ।
चालू आर्थिक बर्षमा २० वटा स्थानीय तहको केन्द्रमा सडक ट्रयाक खन्न र स्तरोन्नति गर्न सरकारले ५४ करोड खर्च गर्न लागेको मन्त्रालयले जनाएको छ ।
तीन बर्षभित्रमा कालोपत्रे सम्पन्न गर्नेगरी सडकहरुको छनौट गरी काम अघि बढेको र अर्को बर्ष थप सडक योजना बिस्तारका लागि चालू आर्थिक बर्षभित्रै ३५ वटा स्थानीय तह जोड्ने बाटोको पहिचान गरी डिपिआर सम्पन्न गर्नेगरी मन्त्रालय अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालिरहनुभएका मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।