मन्त्री भट्टराई र नेपालले थाम्न सकेनन् आँसु

गुगलपाटी संवाददाता काठमाडौं
१९ श्रावण २०७६ १२:२१

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार पर्यटन मन्त्री योगेश भट्टराईलाई डाकिएको थियो। मन्त्री भएपछि योगेश पहिलोपटक समितिमा गएका थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा माधवकुमार नेपाल सदस्य छन्। पूर्वप्रधानमन्त्री नेपालले आइतबार समिति बैठकको सुरूआतमा ४० मिनेटभन्दा लामो समय धारणा राख्न खर्चिए।

नेता नेपालले योगेशलाई दाग नलगाउन सुझाव दिए। उनले परीक्षण भैसकेका र असफल भएका मान्छेलाई नलिन सुझाव दिए। उनले मन्त्रालय चलाउन योगेशलाई सिकाइरहँदा योगेश सुनिरहे।

‘मन्त्रालयमा गएपछि धेरै मान्छे दागी भएर आउँछन्। दाग नलागोस्’, नेता नेपालले सुझाव दिए।

जब मन्त्री भट्टराईको बोल्ने पालो आयो उनी भावुक बने।

योगेशले २०४३ सालमा आफू ६० दिन लगातार बिरामी भएका बेला माधव नेपाल भेट्न आएको सम्झिए।

पञ्चायनको चुनाव उपयोगको नीति पार्टीले बनाएका बेला योगेश काठमाडौंमा प्रचारको कार्यमा सक्रिय थिए।

‘म ठूलो बिमारी भएँ। टिचिङ हस्पिटलमा मलाई उपचारकै लागि लगियो। ६० दिन बसें। डाक्टरले माया मारेका  थिए’, योगेशले भने, ‘माधव कमरेड आउनुभयो। उहाँ माधव नेपाल नभएर अर्कै नाम लिएर आउनुभयो। एक किसिमले स्पर्श गर्नुभयो। त्यसले मलाई बाँच्ने आशा दिलायो।’

योगेशले यत्ति भनेपछि माधव नेपाल पनि भावुक हुँदै आँसु झार्न थाले।

योगेशले ‘आफ्नो सम्बन्ध ‘गुरु/चेला, शिक्षक/विद्यार्थी जस्तो’ सम्बन्ध रहेको बताए।

अनि नेता नेपालले दिएको निर्देशन शिरोपर गर्ने बताए। माधव नेपाल र योगेश भट्टराई दुवै भावुक बनेपछि समितिको बैठकको माहौलमा शून्य छाएको थियो।