विद्यालयमा जंग फुड निषेध
गुगलपाटी संवाददाता पाँचपोखरीपाँचपोखरी थाङपाल गाउँपालिकाले पालिका भित्रका सबै विद्यालयहरुमा जंग फुड (पत्रु खाना) निषेध गर्ने निर्णय गरेको छ । विद्यालयहरुमा जंग फुडले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै गाउँ कार्यपालिकाको बैठकले नै विद्यालयहरुमा जंग फुड निषेध गरेको हो ।
गाउँपालिकाले सबै विद्यालय र वडाहरुमा पत्र पठाउँदै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सामुदायिक विद्यालयको ५० मिटर वरपर सम्म जंग फुड बिक्री वितरणमा समेत निषेध गरेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए ।
विद्यालय हाता र विद्यालयको ५० मिटर भित्र सम्म चाउचाउ,विस्कुट,पानीपुरी,चटपटे लगायतका जंग फुडहरु विक्री वितरण गर्न नपाइने अध्यक्ष लामाले जानकारी दिए । नेपाल सरकारले समेत सामुदायिक विद्यालयहरुमा जंग फुड निषेध गर्नै निर्णय गरेको छ,त्यसै अनुसार हामीले पनि त्यही निर्णयका आधारमा जंग फुड निषेधको निर्णय गरेका छौ अध्यक्ष लामाले भने ।
सबै सामुदायिक विद्यालयहरुमा निर्णय कडाइका साथ लागु गराउन समेत आफुहरुले निर्देशन दिएको उनले बताए ।
सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये गाउँपालिकाले नै निर्णय गरेर जंग फुडमा प्रतिबन्ध लगाएको यो गाउँपालिका पहिलो हो । अन्य गाउँपालिकाहरुले पनि बिस्तारै यस्ता अभियान सुरु गर्नै बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।
विद्यालयहरुमा टिफीनमा समेत घरेलु खाजा र विद्यालयमा सञ्चालित क्यान्टीनहरुमा पनि स्थानीय उत्पादनलाई उपयोग गर्न सबै गाउँबासीलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष लामाको भनाई थियो ।