२ विद्यार्थीको हत्या गरेको आरोपमा ७ जना पक्राउ
गुगलपाटी संवाददाता बैतडीगएको असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ वर्षीय बालिका कलावती सार्की र दशरथचन्द नगरपालिका ६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा बैतडीमा प्रहरीले ७ जनालाइ पक्राउ गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढीक घर भएकी ८ वर्षीया बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका–४ का खगेन्द्रराम महरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
कलावती बुवा खडक सार्कीसँगै दशरथचन्द नगरपालिका–४ को बमरोडामा बस्दै आएकी थिइन् । कलावतीको शव गएको साउन ८ गते उनी अध्ययनरत शिव आधारभूत विद्यालय नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो ।
कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता पातलीले बताउनु भयो । आरोपित महरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको उहाँले भन्नुभयो ।
यस्तै दशरथचन्द नगरपालिका–६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गएको साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्किरहेका दीपकको शव गएको असार १७ गते दशरथचन्द्र नगरपालिका–६ को कन्सनीगाड नजिक फेला परेको थियो ।
दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका–६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको प्रवक्ता पातलीले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई पनि जिल्ला अदालतमा ५ दिनको म्याद थपेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।