किसानको अनौठो काइदा, खेतबारीमा विषादी होइन रक्सी
गुगलपाटी संवाददाता काठमाडौंभारतको हरियानाका किसानहरुले एउटा अनौठो तथा नौलो प्रयोग सुरु गरेका छन् ।
त्यहाँको फतेहावाद जिल्लाका किसानहरुले आफ्नो खेतबारीको बालीनालीलाई रोग किराबाट जोगाउनका लागि निकै रोचक उपाय अपनाएका छन् ।
किसानहरुले बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेका छन् ।
पानीमा मिलाएर बालीनालीमा रक्सी छर्किने यो विधि अनौठो त छँदैछ, यो विधि कति सफल होला ? त्यो पनि हेर्न बाँकी नै छ । तथापि किसानहरु भने बालीनालीलाई मदिरा शेचन गर्ने विधि निकै सफल हुने विश्वासमा छन् ।
कृषि वैज्ञानिकहरुले भने यस्तो विधिलाई किसानहरुको भ्रम भनेका छन् । बालीनालीमा रक्सी छर्किनाले कुनैपनि किटाणु नमर्ने उनीहरुको भनाई छ । किसानहरुलाई भ्रममा परेर आफ्नो बालीनाली नोक्सान नगर्न उनीहरुले आग्रह गरेका छन् ।
किसानहरु भने खर्च कम हुने, उत्पादन बढ्ने, विषादी रहित स्वच्छ खानेकुरा खान पाइने र वातावरणमा पनि नकारात्मक असर नपार्ने भन्दै रक्सी छर्किने विधिको जोडतोडका साथ प्रयोग गरिरहेका छन् । एजेन्सीको सहयोगमा