पहिरोका कारण ९ घर विस्थापित, २२ भन्दा बढी घर उच्च जोखिममा

गुगलपाटी संवाददाता सिन्धुपाल्चोक
२२ श्रावण २०७६ ०६:१४

 अविरल वर्षाका कारण पहिरो जाँदा त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा नौ घर विस्थापित भएका छन् । बस्तीमाथिको खेतबारी भलसँगै बग्न थालेपछि २२ भन्दा बढी घर उच्च जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन् ।

वर्षातले धुस्कुनको फागु, चित्रेपाटी, फापरचौरलगायतका बस्तीमा त्राहीमाम मच्चिएको स्थानीय विद्यालयकी प्रधानध्यापक अप्सरा खड्काले बताइन् । ‘विस्थापित कहाँ जाने अन्योलमा परेका छन् । बस्ती पूरा पहिरोसँगै बग्ने खतरा देखिन्छ, सुरक्षित स्थानमा जाने पुर्वाधार व्यवस्थापन भइरहेको छ,’ उनले भने ।

त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका वडाध्यक्ष शुकदेव रिसालले आफू स्थलगत अध्ययनमा पुगेर तत्कालै पीडितलाई सहयोग गर्न जुटिरहेको जनाए । इलाका प्रहरी बाह्रबिसेकानुसार घटनास्थलमा प्रहरी पुगेर विवरण संकलन गर्दैछन् ।