प्रदेशको राजधानी जोगाउन बल्ल तात्यो एमाले

गुगलपाटी संवाददाता मकवानपुर,२२ बैशाख
२२ बैशाख २०७५ ०८:३२

प्रदेश नम्बर ३ को राजधानी सर्ने हल्ला चलिरहेका बेला बल्ल नेकपा एमाले मकवानपुर तातेको छ । उसले प्रधानमन्त्री केपी ओलीसँग हेटौंडालाई नै प्रदेश ३ को राजधानी बनाउन माग गरेका छन् ।

संघीय राजधानी काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै एमाले जिल्ला कमिटीले प्रदेश २ को राजधानी सार्ने कुरा बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएको आन्दोलनको भावना विपरीत हुने जिकिर गरेको छ ।‘३ नं प्रदेशको राजधानी अन्य ठाउँमा सार्ने कुराले बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएका आन्दोलनको भावनाको विरुद्धमा हुनेछ’ ज्ञापनपत्रमा भनिएको छ ‘जनभावना विपरीत हुने र परिवर्तनको आभास जनताले गर्न नसक्ने र नपाउने भएकाले पनि हेटौंडालाई ३ नम्बर प्रद्येशको स्थायी राजधानी तोकिनु उपयुक्त हुनेछ ।’

हेटौंडा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको र हाल १९ वटा क्षेत्रीय कार्यालय, ३ वटा मुख्य कार्यालय रहेकाले राजधानीका लागि पूवार्धार पर्याप्त हुने एमालेको जिकिर छ ।

विश्वका धेरै देशको राजधानी मध्यभागमा नभएको भन्दै हेटौंडा पनि प्रदेशको छेउमा पर्छ भन्नु युक्तिसंगत नहुने एमालेले बताएको छ । ‘विश्वको नक्शा पल्टाएर देशको राजधानी हेरेर मात्रै राजधानी बीचमा नभए पनि हुने रहेछ भन्ने यथार्थतालाई हृदयंगम गरी हेटौंडालाई प्रदेश ३ को स्थानीय राजधानी बनाउने निर्णय गर्नु उपयुत्त, हुने कुराप्रति गम्भीर ध्यानाकर्षण गराउँदछौं’ ज्ञापनपत्रमा भनिएको छ ।

काभ्रे भक्तपुर र नुवाकोटमा राजधानी बनाउन भनी प्रदेशसभामा प्रस्तावहरु पेश भएपपिछ राजधानी सर्ने आशंका बढेको भन्दै एमालेले नसार्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्र बुझाउने एमाले टोलीमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल, उपसचिव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत सहभागी थिए ।प्रदेशले प्रदेश नम्बर तीनको राजधानीका लागि उपयुक्त स्थान खोज्न भन्दै केही दिन अगाडि १३ सदस्यीय अध्ययन समिति समेत बनाएको छ ।