पहिरोका कारण ११ पसलसहित २ दर्जन घर पहिरोको उच्च जोखिममा

गुगलपाटी संवाददाता उदयपुर
२३ श्रावण २०७६ ०६:३३

सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने उदयपुरको रौतामाई गाउँपालिका– ५ पोखरी बजार पहिरोको उच्च जोखिममा परेको छ । असारको अन्तिम साता आएको वर्षातले पोखरी बजारमा माथिबाट पहिरो झर्न थालेपछि जोखिममा परेको हो ।

पोखरीको बस्ती माथिको ठुलो पहाड नै धाजा फाटेर झर्न लागेकोले पोखरी उच्च जोखिमम परेकाले बस्ती स्थानान्तर गर्नु पर्ने अवस्था आएका हुन । रौतामाई गाउँपालिका–५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नु पर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पोखरीमा ११ वटा पसल घर सहित करिब दुई दर्जन घर परिवार उच्च जोखिममा रहेका छन् ।

बस्ती भन्दा माथिको अग्लो पहाड विष्फोट भए झै गरी भत्किन सुरु गरेको छ । ठूलठूला चट्टान खस्न लागेका छन् । खसेको खण्डमा सिधै घरको छानोछानोमा पर्ने र ठूलो धनजनको क्षती हुने अबस्था सिर्जना भएको छ । जोखिममा परेको पोखरी बजारको मंगलबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेताहरु र पालिकाका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको थियो । टोलीले स्थानीय बासिन्दाको सुरक्षा र बस्ती स्थानान्तरणको लागि चिन्ता लिएको छ भने समाधानका उपाय र विकल्पको खोजीमा पनि लागेको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले वस्ती सार्नुको विकल्प नरहेको बताए । हिउँद वा वर्षा कुनै पनि समय त्यहाँ पहिरोको उच्च जोखिम रहेकाले जति सक्दो चाँडो बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक देखिएको प्रजिअ खड्काको भनाई रहेको छ ।

स्थानीयका अनुसार गत साउन १० गते बिहान एक्कासी डाँडाको एक छेउ भत्किएको थियो । भत्किएर खसेका दुई ठूला ढुंगा बस्ती माथि धराप झै अडिएका छन् भने डाँडा थप भत्किने अवस्थामा रहेको छ । बस्ती भन्दा माथि करिब ३ किलोमिटर अग्लो पहाड भत्किएमा सिधै बस्ती माथि खस्ने अवस्था रहेका वडा अध्यक्ष पाण्डब राईले बताए । केहि दिन अघि भत्किदा खसेको ढुंगा बीचमा माथि नै अडिएका छन, तर अब भत्किएमा सिधै बस्तीमा खस्ने हो । उनले भने अडिएकै ठूला ढुंगाहरु पनि कति बेला बस्ती माथि खस्ने हो भन्ने टुंगो छैन ।

९० सालको भुकम्पमा पहाड देखी कोशीतर्फ बगेर बसेको जमिन माथि नै हाल पोखरी बस्ती बसेको बुढापाकाहरु बताउँछन् । सिंगो बस्ती बसेको जमिन कुनै पनि बेला बग्न सक्ने जोखिम पुरानो छदाछदै यस पटक देखि बस्ती माथिको डाँडा भत्किन थालेपछि बस्तीको जोखिम बढेको वडा अध्यक्ष राईको भनाई रहेको छ ।

होटल, पसल सहितको बजारको रुपमा विकसित हुदै गरेको सो बस्ती अहिले चिन्तामा डुबेको छ । गाईघाट–फोक्सिन्टार–रसुवा चल्ने सवारी साधनहरुको बिसौनी समेत रहेको पोखरी बजार स्थानीय बासिन्दाहरुले बस्ती छाडि हाल्न भने सकेका छैनन् ।