प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ : मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता काठमाडौँ
२३ श्रावण २०७६ १०:०५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो घर हेटौंडामा भए पनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।

प्रदेश ३ को स्थायी राजधानी नुवाकोट वा रामेछापमा बनाए पनि आफूलाई आपत्ति नहुने तर, काठमाडौंमा चाहिँ कुनै हालतमा प्रदेशको राजधानी राख्न नहुने मुख्यमन्त्री पौडेलको तर्क छ ।

उनले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि तयार छु ।’ उनले प्रदेश सरकार एक्सन ओरियन्टेडमा उत्रिएको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो एकै दिनमै लगाइने दाबी गरे । 

मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायामा प्रदेशको राजनीति बस्न नसक्ने भन्दै काठमाडौं बाहिर पनि देश हो भनेर बुझाउन प्रदेश ३ को राजधानी बाहिर हुनुपर्ने जिकिर गरे ।  उनले स्थानीय सरकारलाई कमजोर बनाउन नहुने भन्दै सरकार करबाटै चल्ने दावी गरे ।

फरक प्रसंगमा यातायातमा बढेको कर छिट्टै फिर्ता उनले बताए । उनले भने, ‘यातायतमा बढेको कर अब बस्ने संसद बैठकबाटै संशोधन गरिन्छ ।’