बाख्रा खाएर बाघ खोरमै सुतेपछि

गुगलपाटी संवाददाता मकवानपुर
२२ बैशाख २०७५ १०:०४

बाघको आक्रमणबाट एक महिलाको मृत्यू भएको दुई साता नबित्दै मकवानपुरको मनहरी गाउँपालिकाम फेरि बाघ आएको छ । शनिबार बिहान करिब ३ बजेको समयमा मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित जीतबहादुर बिकको दुईवटा बाख्रा खाएर खोरमै बसेको बाघ बिहान करिब ११ बजे जंगल छिरेको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदम तितुङले बताए । बाख्रा खाएर बाघ खोरमै बसेको थियो ।
नियन्त्रणमा लिने प्रयास गर्दा बाघ हरियाली सामुदायीक बन उपभोक्ता समुहको क्षेत्रमा पसेको उनले जानकारी दिए । बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु विज्ञ तथा बेहोस् बनाउने प्राविधिक टोली,पर्सा बन्यजन्तु आरक्षको टोली र सेनाले प्रयास गरेका थिए ।
दुई साताको बीचमा दोस्रो पटक बाघ देखिएपछि मनहरीवासी आतंकित बनेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालित छन् । यसअघि नियन्त्रणमा लिइएको बाघ चितवन राष्ट्रिय निकुञ्जमा खोरमै राखिएको छ । वन क्षेत्रमा वन्यजन्तुको चहलपहल बढ्दो क्रमसँगै मानववस्तीमा पनि वन्यजन्तु प्रवेश भइरहेको छ ।