कक्षा ११ र १२मा संकाय पद्दती हटाउने तयारी
गुगलपाटी संवाददाता काठमाडौं
शिशुकक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीय ९सिंगल ट्रयाक का रुपमा जाने भएको छ । नीतिगत निर्णय भए पनि पाठ्यक्रमको स्वरुपलार्इ अन्तिम रुप दिन भने बाँकी छ ।
उच्च माध्यमिक शिक्षा परिषद् ऐन बनेपछि वर्ष २०४९ बाट कक्षा ११ र १२ अलग शैक्षिक संरचना बनेको थियो । त्यही बेलादेखि विश्वविद्यालयमा जस्तै विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा समूहको अलगै संकाय प्रणाली चलेको थियो । दुर्इ हजार ६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटाएपछि कक्षा ११ र १२ को संरचना झन बलियो बन्यो । तर यो तह २५ वर्षमै परिवर्तन भइ विद्यालय शिक्षामा गाभियो र कक्षा ९ र १० मा जस्तै पठन प्रणाली सुरू हुने भएको छ ।
अब अनिवार्य अँग्रेजी र नेपालीबाहेक बाँकी सबै विषय एेच्छिक हुनेछन् ।
उच्चशिक्षा अध्ययन र विश्वविद्यालय प्रवेशका लागि आधार तयार गर्ने चरण पनि हो, कक्षा ११ र १२ । यही चरणमा उपयुक्त विषय छानी विद्यार्थीले उच्च तहमा पढ्न चाहेको विषय वा संकायका लागि तयारी गर्नुपर्नेछ ।
पाठयक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको प्रारूप बनाउँदै छ । आउँदो शैक्षिक सत्रबाटै लागू गर्न खोजिएको नयाँ पाठ्यक्रमले अझै पूर्णता नपाउँदा भने पाठ्यपुस्तक र विद्यालयहरूको तयारी फितलो हुन सक्नेछ ।