हेटौंडामा परिवर्तनशिल युवाहरुको भेला

गुगलपाटी संवाददाता
२८ श्रावण २०७६ १२:५१

हेटौंडाः प्रदेश ३ को राजधानी हेटौंडामा देशभरका ४० भन्दा बढी जिल्लाका युवाहरु हेटौंडामा भेला भएका छन् । परिर्वतनशील युवा अभियान आयोजनामा हेटौंडामा युवाहरुको भेला भएको हो । परिवर्तनशील युवा अभियानले आफ्नो प्रथम वार्षिक साधारण सभामा युवाहरुको भेला गरि युवा क्षेत्रमा गर्न सक्ने कार्यहरुको बारेमा जानकारी तथा आफ्नो कायैयोजना प्रस्तुत गरेको हो ।

सहभागी युवाहरू

युवाहरुको छलफलमा नेपालमै बसेर सामाजिक तथा आर्थिक क्षेत्रमा युवारुले प्रशस्त काम गर्न सक्ने, आम्दानी गर्न सकिने र अन्यलाई रोजगारी समेत दिन सकिने योजनाहरु अभियानका अध्यक्ष अमृत चिमरियाले प्रस्तुत गरेका थिए । उनले अभियानको वार्षिक कार्यक्रम सार्वजनिक गर्दैै पछिल्लो समय देशमा बढ्दो विकृतीमा युवा पुस्ताले भुमिका खेल्ने भन्दै देशभरका युवाहरुलाई एकबद्ध भएर सामाजिक रुपान्तरणमा लाग्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कतिपय युवाहरु सत्य तथ्य नबुझी सामाजिक सञ्जाल मार्फत कतिपय व्यक्तिको चरित्रहत्या गर्ने र अर्कालाई खुइल्याउने खराव खेलमा लागेको प्रति दुख व्यक्त गर्दै सामाजिक सञ्जालको सदुपयोगमा युवाहरुले ध्यान दिनुपर्ने बताए । खुलालले देशका युवाहरुको जमघट मार्फत समाज परिवर्तन गर्न भन्दै युवाहरुले सुरु गरेको अभियान अत्यन्तै स्वगतयोग्य र प्रशंसनीय रहेको बताउँदै स्वरोजगार बन्दै समाज परिवर्तन गर्ने अभियानमा समेत आफुलाई समाहित गर्ने युवाहरु नै यो देशले खोजिरहेको धारणा राखेका थिए ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले युवाहरु भविष्यको कर्णधार मात्रै नभएर वर्तमानको साझेदार समेत भएकोले उनीहरुलाई साझेदारको रुपमा ब्यवहार गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका थिए ।
यस्तै वक्ताका रुपमा रहेका जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष तथा शान्तीको लागि साझा अभियान कोक्यापका राष्ट्रिय उपाध्यक्ष दीपेन्द्र ढकालले युवाहरुलाई खेलकुद मार्फत अनुशासित नागरिक बनाउन सकिने धारणा राखेका थिए ।

ढकालले देशको लागि खेल खेलिरहेका कतिपय खेलाडीहरु सम्बन्धित निकायले बेवास्ता गर्दा निरास भएर बस्नुपर्ने अवस्था रहेकोले खेलाडीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम यस्ता युवा अभियानहरुले ल्याउनुपर्ने बताएका हुन् । यस्तै कार्यक्रमका वक्ता लामो समय सम्म सामाजिक विकास अधिकृत रुपमा काम गरेका रामकृष्ण थापाले युवाहरुमा सकरात्मक सोच कम हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले युवा क्षेत्रमा नैतिक शिक्षामा कमि आएकोमा युवा अभियानहरुले यस्तो कुरामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठले युवाहरुले अरुका कुराहरु सुन्नुपर्ने र आफ्ना कुरा पनि सौहार्द पुर्वक राख्न सक्ने क्षमता राख्नुपर्ने बताए । युवाहरुले अरुबाट आफूले अपेक्षा गरे अनुसार कै व्यवहार अरुलाई पनि गर्नुपर्ने उनको धारणा थियो । विगत देखिनै युवाहरुलाई सहि ढंगले परिचालन गर्न वा दिशा निर्देश गर्न समाज कही न कही चुकिरहेको उनले बताए ।
यस्तै पत्रकार धम्रेन्द्र दाहालले संस्थाहरु स्थापनाको लागि मात्रै नभई समाज परिवर्तनको लागि काम गर्नुपर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय सचिव रहेका प्रकाश दाहालले युवाहरु कुलतबाट मुक्त हुनुपर्ने धारणा राख्दै प्रविधिको सदुपयोग गरेर अगाडि बढाउन अभियानले भूमिका खेल्नुपर्ने बताए । युवाहरु उत्पादनसंग जोडिन आफै योजना बनाएर आउनु अत्यन्तै सकारात्मक रहेको उनको भनाई थियो ।

युवा समाजसेवी विकेशलाल श्रेष्ठले युवाहरु लागेमा हरेक असम्भव भनिएको कामहरु समेत सम्भव हुने धारणा राख्नुभयो । कार्यक्रममा युवा क्षेत्रमा काम गरेका दश भन्दा धेरै व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारण सभामा अभियानका अध्यक्ष अमृत चिमरियाले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रकृती पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अभियानमा देशभरका ४० भन्दा धेरै जिल्लाका युवाहरु सदस्य रहेको अध्यक्ष चिमरियाले बताए ।