प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित : सामुदायिकमा पढेकालाई प्रवेश परीक्षामा सहुलियत

गुगलपाटी संवाददाता हेटौंडा
२८ श्रावण २०७६ १२:५७

हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा परिणत गर्ने गरी विधेयक ल्याइएको छ  । सामुदायिक विद्यालयबाट १२ कक्षा पास गरेका विद्यार्थी प्रतिष्ठानमा भर्ना हुँदा प्रवेश परीक्षामा अतिरिक्त १० नम्बर दिने बुँदा समितिको बैठकबाट थप गरिएको हो ।

गत चैत २६ गते प्रदेशसभामा पेश भएको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश–३ को शिक्षा, स्वास्थ्य तथा कृषि समितिले संशोधनसहित पारित गरेको छ । प्रस्तावित विधेयकमाथि लामो छलफलपछि सोमबारको समितिको बैठकले पारित गरेको हो ।

त्यसैगरी नेपाली विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने संघीय कानुनमा उल्लेख भएको बुँदा पनि प्रदेश विधेयकमा थप गरिएको छ । विदेशी विद्यार्थीलाई भने छात्रवृत्ति दिइने छैन । त्यसैगरी संघीय सरकार मातहत रहेको भरतपुर अस्पतालसँग सहकार्य गरी प्रतिष्ठान स्थापना गरिने बुँदा पनि समितिको छलफलबाट थप गरिएको समितिका सदस्य बलराम दाहालले बताए ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विज्ञान प्रतिष्ठान आवश्यक भएको प्रस्तावित विधेयकको प्रस्तावनामा उल्लेख छ ।

प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रस्ताव गरिएको छ । उपकुलपति नियुक्तिको सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुई जना सदस्य रहेको समिति गठन हुने विधेयकमा प्रस्ताव गरिएको छ ।

विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ । प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन भने नपाइने विधेयकमा उल्लेख छ ।

 निर्माणाधीन अस्पतालमा १ सय ९० बेड क्षमता तयार हुने र त्यसमा प्रदेशको बजेटमार्फत थप १ सय बेड क्षमताका लागि भवन निर्माण गरी मेडिकल कलेजसहितको कम्तीमा ३ सय बेड क्षमताको स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।