ट्रकले ठक्कर दिँदा अरुणखोलाको पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गुगलपाटी संवाददाता
२९ श्रावण २०७६ ०५:५०

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मध्यविन्दु नगरपालिकाअन्तर्गत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किदाँ पुलमा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए ।

ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रुवाहक बससमेत रोकिएका छन् ।

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।