हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा तरुण दलले सांस्कृतिक कार्यक्रम गर्ने

गुगलपाटी संवाददाता हेटौंडा
२९ श्रावण २०७६ १०:१३

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल तरुण दल मकवानपुरले विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

भदौं ११ गते हेटौंडाको पल्पसा सभागृहमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतीका साथै दर खुवाउने कार्यक्रम राखिएको हो । कार्यक्रमको भव्य तयारी भइरहेको तरुण दल मकवानपुरकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक अञ्जना उपाध्यायले जानकारी दिईन् ।

कार्यक्रममा नेपालका चर्चित गायक पशुपति शर्मा, टीका सानुलगायतले लोक दोहोरी गीतमार्फत दर्शकलाई मनोरञ्जन गराउनेछन् । हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दरलगयातको हास्यकलाकारको टोलीले हास्य प्रहसन पनि गर्नेछन् ।

सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षणको रुपमा तरुणले उत्कृष्ट नृत्य गर्नेलाई सुनको तिलहरी नै प्रदान गर्ने घोषणा गरेको छ ।

निर्णायक मण्डलले उत्कृष्ट नाँचने एक जनालाई सुनको माइली तिलहरी उपहार दिनेछन् । त्यस्तै सुनको चन्द्रमा, एक सेट पाउजु र एकसेट झल्ला एक÷एक जनालाई दिइने तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।
तिज विशेष र दर खाने कार्यक्रमको लागि ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।