एकै परिवारका चार जना सहित पाँच जनाको मृत्यु

गुगलपाटी संवाददाता बझाङ
२३ बैशाख २०७५ ०९:३८

बझाङको थलारा गाँउपालिका ४ डिक्लागाडमा खहरे खोलाले बगाउँदा एकै परिवारका चार जना सहित पाँच जनाको मृत्यु भएको छ ।

ढोढेखेत बजारबाट शनिबार साँझ घरतर्फ जाने क्रममा घर नजिकैको खहरे खोलामा बगेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा थलारा गाँपालिका(४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५वर्षीया कलसी विक रहेको बझाङ्ग प्रहरी, प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएपनि परिवार र गाउँ शोकमा परेको छ । मृतक बिकको घरमा आमा बुबा र एक छोरा एक छोरी छन् ।

शनिबार राति करिब ८ बजेको समयमा परेको बषरका कारण खहरे खोलामा बाढी आएको थियो ।

रातको समयमा खोला तर्ने क्रममा उनीहरुलाई खहरेको भेलले बगाएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको शवलाई पोष्टमार्टमको लागि अस्पताल ल्याउने तयारी भैरहेको छ ।

गत १९ गते राति मात्रै बझाङ्गमै अचानक परेको पानीपछि आएको भेलले गुडीहरेको गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।