पत्रकार पुडासैनीको मोबाइलको ल्याब परीक्षण हुँदै, बिहीबार रिपोर्ट आएपछि थप अनुसन्धान हुन्छ : एसपी मल्ल

गुगलपाटी संवाददाता
३० श्रावण २०७६ ०७:३४

चितवनमा आत्महत्या गरेका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको मोबाइल प्रहरीले परीक्षणका लागि ल्याबमा पठाएको छ। परीक्षणको रिपोर्ट बिहीबार आउने भएकाले आवश्यक प्रमाण फेला परे त्यहीअनुसार अनुसन्धान अगाडि बढ्ने चितवनका एसपी दानबहादुर मल्लले बताए।

आत्महत्या गर्नु पहिले पुडासैनीले रेकर्ड गरेको भनिएको दाबी गर्दै भिडियो सार्वजनिक भए पनि ल्याबबाट रिपोर्ट नआइ आधिकारिक मान्न नसकिने एसपी मल्लले बताए।

सार्वजनिक भएको भिडियोमा टेलिभिजन पत्रकार रवि लामिछानेसहित ३ जनाको नाम जोडिएको छ। यस विषयमा एसपी मल्लले भने, ‘भिडियोको आधिकारिकता हेरिन्छ, कहाँ, कहिले रेकर्ड भएको हो। ल्याबमा पठाएको मोबाइल र सार्वजनिक भिडियो मेल खाएमा अरु कुरा अध्ययन गर्छौं।’

पीडित परिवारले किटानी जाहेरी दिएमा प्रहरीले भिडियोमा नाम लिइएकाहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइने पनि मल्लले बताए।

आफूलाई आरोप लगाउँदै भिडियो सार्वजनिक भएपछि पत्रकार लामेछानेले आरोप प्रमाणित भए हदैसम्मको काबाही भोग्न तयार रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ।’

नुवाकोटका घर भएका पत्रकार पुडासैनीले साउन २१ गते चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए। स्रोत : नेपालन्यूज