प्रदेश तीनका दश प्रतिशत बिवाहित महिला गर्भवती

गुगलपाटी संवाददाता हेटौंडा,२३ वैशाख
२३ बैशाख २०७५ १३:३८

प्रदेश तीनका १५ देखि १९ वर्ष समुहका दश प्रतिशत बिवाहित महिलाले बच्चा जन्माईसकेको वा हाल गर्भवती रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश तीनको समन्वयमा आज हेटौंडामा भएको स्थानीय तहमा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
स्वास्थ्य सेवा महाशाखा प्रमुख सतिश विष्टले ५८ प्रतिशत बिवाहित महिलाले मात्र दक्ष स्वस्थ्यकर्मीबाट सेवा लिइरहेको जानकारी दिए । ‘चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्म प्रदेश तीनका ७१ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा बच्चा जन्माएको तथ्याङ्क छ’,उनले भने ।
मन्त्रालयका अनुसार प्रदेश तीनका ६१ प्रतिशत बिवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् । भने थप २० प्रतिशत बिवाहित महिलाहरुमाझ परिवार नियोजनको साधन पहुँच बाहिर रहेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाका ८५ प्रतिशत बालवालिकाले पूर्ण खोप पाएका छन् ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेललले स्वास्थ्यकर्मीहरुले इमान्दारिपूर्वक काम नगर्दा पनि बिरामीले दुख पाएको बताए । सरकारी सेवामा इमान्दारिताका साथ काम गर्ने हो भने पनि जनताले धेरै राहत महशुस गर्ने उनको भनाई छ ।
प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश तीनलाई अवसरसँगै स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने धेरै चुनौतीहरु रहेको बताए ।