विद्यार्थीलाई दिवा खाजाका लागी पराजुलीले गरे आर्थिक सहयोग

गुगलपाटी संवाददाता हेटौँडा
३१ श्रावण २०७६ ०९:२६

नेपाली कांग्रेस हेटौँडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले एउटा विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन आर्थिक सहयोग गरेका छन् ।

हेटौँडा उपमहानगपालिका वडा नम्बर १३ सुकुम्बासी टोलमा रहेको चेतना नमुना प्राविका इसिडी र कक्षा १ का गरी ४० जना विद्यार्थीहरुका लागी दिवा खाजा खुवाउन पराजुलीले आर्थिक सहयोग गरेका हुन् ।

पराजुलीले एक कार्यक्रमकावीच शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक डिमडुङ र विद्यालयक प्रधानाध्यापक राजु बर्तौलालाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

यसैगरी निर्माण व्यवसायी संघ मकवानपुरका तर्फबाट संघका उपमहासचिव भवनाथ अधिकारीले पनि ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दिवा खाजाको लागी १० हजार रुपैया सहयोग उपलब्ध गराएका छन् ।

सहयोग रकम हस्तान्तरण गर्दै नगर सभापति पराजुलीले हाल गरिएको सहयोग रकमले विद्यार्थीहरुका लागी करिब दुई महिनाको दिवा खाजा पुग्ने बताउँदै आगामी दिनमा पनि व्यक्तिगत र विभिन्न संघसंस्थाहरुबाट सहयोगका लागी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा हाल १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक राजु बर्तौलाले जानकारी दिए ।

विद्यालयमा पढ्ने विद्यार्थीको संख्यामा कमि हुँदैगएपछि विद्यार्थीहरुलाई विद्यालयमा आकर्षित गर्न दिवा खाजा खुवाउने अभियान सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक बर्तौलाले बताए । नयाँ भवन निर्माण भइरहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म कक्षा संचालन गर्ने लक्ष्य रहेको पनि प्रधानाध्यापक बर्तौलाले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य सन्तबहादुर तितुङ, शिक्षक अभिभावक संघ अध्यक्ष तेजकुमार स्याङतान, तरुण दल ३ नम्बर क्षेत्रीय कोषाध्यक्ष सुवास दाहाल एवं विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो