खुर्पा प्राहार गरी १९ वर्षिय श्रीमतीको हत्या
गुगलपाटी संवाददाता गोरखाएक २० वर्षिय युवकले आफनै श्रीमतीको हत्या गरेका छन् । गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।
हत्याका आरोपित याकुवलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
‘उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’
मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।