भारतीय क्रिकेट टोली सिध्याउने धम्की, खेलाडीलाई सचेत रहन बोर्डको निर्देशन
गुगलपाटी संवाददाता काठमाडौंवेस्टइन्डिज भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई सिध्याउने धम्कीको हल्ला फैलिएको छ । पाकिस्तानी समाचार च्यानल जियो टीभीले यसको जानकारी दिएको हो । पाकिस्तानी क्रिकेट बोर्डमा एक धम्कीपूर्ण इमेल आएको थियो ।
पीसीबीले यो जानकारी आईसीसीको माध्यमबाट बीसीसीआईलाई दिएको थियो । त्यसपछि भारतीय टोलीको सुरक्षा बढाइएको छ । बीसीसीआईले यो धम्कीलाई हल्लामात्र भएको बताएको छ । वेस्ट इन्डिजले पनि हरसम्भव सुरक्षा प्रदान गरिने बताएको छ । बीसीसीआईले आफ्ना खेलाडीको सुरक्षामा कुनै कमी आउन नदिने बताएको छ ।
भारतीय क्रिकेट टोलीका म्यानेजर सुनील सुब्रमण्यमले सबै खेलाडीलाई यसबारेमा जानकारी दिँदै सचेत रहन निर्देशन दिएका छन् । उनले कतै जानुपर्दा पनि सूचना दिएर मात्र हिँड्न आग्रह गरेका छन् ।
पछिल्लो समय भारत–पाकिस्तानको बीचमा कश्मीर मुद्दामा देखिएको तनावको बीचमा यस किसिमको समाचार बाहिरिएको हो । भारतले संविधानको धारा ३७० खारेज गरेसँगै यी दुई मुलुकबीचको तनाव झनै बढेको छ । यस्तोमा भारतीय क्रिकेट टोलीलाई सिध्याउने धम्की आउनुलाई निकै गम्भीररुपमा लिइएको हो ।
यसअघि पनि क्रिकेट टोलीमाथि आक्रमणको विभिन्न धम्की आउने गरेका थिए । साथै, अन्तर्राष्ट्रिय खेलमा सुरक्षालाई विशेष चासोको रुपमा हेरिने गरेको छ । यसअघि सन् २००९ मा पाकिस्तानमा श्रीलंकाली खेलाडीमाथि भएको आक्रमणको कारण अझै पनि विदेशी टोलीले पाकिस्तानी भूमिमा गएर क्रिकेट खेल्दैनन् ।