बोटेबस्तीमा ‘निःशुल्क बिजुली मिटर’ का लागि रकम असुली
गुगलपाटी संवाददाता मनहरीनेपाल विद्युत प्राधिकरणले गरिव र विपन्न परिवारका लागि बितरण गरेको निःशुल्क बिजुली मिटरमा समेत केही व्यक्तिले रकम असुली गरेको पाइएको छ ।
मनहरी गाउँपालिका वडा नं ७ स्थित बिपन्न बोटेबस्ती र लामाबस्तीमा बितरण गरिएका बिजुलीका मिटरका लाभग्राहीसँग रकम असुली गरिएको फेला परेको हो । निःशुल्क मिटर बितरण गर्छु भन्दै केही व्यक्तिहरुले लालपुर्जा, नागरिकता, फोटो तथा ५ सयदेखि २ हजार रुपियाँसम्म रकम मागेर लगेको लाभग्राहीहरुले बताएका छन् ।
अधिकाँश लाभग्राहीहरुसँग प्रतिमिटर पाँचसयदेखि १५ सय रुपियाँसम्म रकम असुली गरी मिटर दिइएको लाभग्राहीहरुले बताएका छन् ।
उनीहरुका अनुसार बिपन्न समुदायको बोटे बस्तीका कुमार माझीबाट १५ सय, साइँली बोटबाट १५ सय, बुद्धिबहादुर बोटबाट १५ सय, प्रेमबहादुर राईबाट २ हजार, बिष्णु बोटबाट १ हजार, रन्जु राईबाट २ हजार, कान्छा बोटबाट १ हजार र भक्तिमाया माझीबाट १ हजार रुपियाँ असुल गरेको पाइएको छ ।
‘निःशुल्क आउने आउने मिटरका लागि पनि ती मानिसहरुले गाडीभाडा, फोटोकपि खर्च भन्दै पैसा मागे’, स्थानीय लाभग्राहीहरुले मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसामु भने ।
यसैबीच निःशुल्क बिजुली मिटर बितरणका लागि रकम असुली गरिएको भन्दै मनहरी गाउँपालिकामा संयुक्त निवेदन परेको छ ।
स्थानीय निर्मल झाले गरिब बस्तीमा रकम असुली गरेको भन्दै गाउँपालिकामा उजुरी परेको हो । यसबारे नेपाल विद्युत प्राधिकरण र आरोपित व्यक्तिहरुलाई समेत राखी छानबीन गरिने मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् ।
आरोपित झालाई यसबारे जिज्ञासा राख्न मनहरीलाइभ डटकमले भदौ २ गते बिहान दुईपटक ९८४१२५४८८१ नंको मोबाइलमा फोन गर्दा उनले उठाएनन् ।
रमौली क्षेत्रमा विद्युत बिस्तारका लागि पोल गाड्ने कार्य पनि ठेकेदारमार्फत नेपाल विद्युत प्राधिकरणले यसअघि गरेकोमा स्थानीयबासिन्दासँग प्रतिपोल २ हजार रुपियाँसम्म असुली गरेको स्थानीयबासिन्दाहरुले बताएका छन् । रकम असुली गरेको प्रमाण भेटेमा कारबाहीको प्रक्रिया अघि बढाइने मनहरी गाउँपालिका ७ नं वडाका वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले गरिब र विपन्नहरुलाई मिटर उपलब्ध गराएको प्राधिकरणका प्रमुख शम्भुप्रसाद कुसियैतले बताए । लालपुर्जा नहुने लाभग्राहीको हकमा मात्र प्राधिकरणले धरौटी लिने गरेको नियम छ । उनले घटनाबारे आफूलाई पनि गुनासो आएकाले छानबीनको प्रक्रियामा रहेको सुनाए ।
केही समयअघि मात्रै प्रदेश सांसद ओमबहादुर ग्लान, प्राधिकरण प्रमुख कुसियैत, वडाध्यक्ष तितुङसहितको उपस्थितिमा मनहरीमा निःशुल्क बिजुली मिटर बितरण गरिएको थियो । स्रोत : मनहरी लाईभ