टिसिएनमा ४ लाख ५० हजार लिटरको ओभर हेड पानी ट्याङकी निर्माण हुने
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा उपमहानगरपालिका–१० टिसिएनमा ४ लाख ५० हजार लिटरको ओभर हेड पानी ट्याङकी निर्माण हुने भएको छ ।
नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुन लागेको पानी ट्याङकीको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् ।
नेपाल सरकारको ७० प्रतिशत र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत लगानीमा ओभर हेड पानी ट्याङकी निर्माण आयोजना सुरु हुन लागेको नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नन्दलाल बन्जाडेले जानकारी दिए ।
उनले आयोजना अन्तर्गत हरिकुञ्ज, टिसिएन, पिप्ले र कमानेमा खानेपानीको ट्याङकी निर्माण गरिने जानकारी दिँदै अन्य तीन स्थानमा ओभर ग्राउण्ड ट्याङकी बनाईने बताए ।
उक्त आयोजन १५ करोड ५५ लाख रुपैँयामा निमार्ण व्यवसायीसँग सम्झौता भएको आयोजना प्रमुख नन्दलाल बन्जाडेले जानकारी दिए ।
हेटौडाका उपभोक्तालाई पानीको उपलब्धता सहज होस् भन्ने उद्धेश्यले सुरु गरिएको आयोजना आर्थिक वर्ष २०७६ असार २७ गते सम्झौता भएको यो आयोजना २ वर्षभित्र निर्माण सम्पन्न गरिने उनले जानकारी दिए ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।