‘पेनाल्टी मिस’ गर्दा पोग्बामाथि रंगभेदी व्यवहार

गुगलपाटी संवाददाता काठमाडौं
३ भाद्र २०७६ ०९:२३

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले रंगभेदी व्यवहारको सामना गर्नुपरेको छ। फुटबल खेलाडीले सामाजिक सञ्जालमा रंगभेदी व्यवहार सहनु परेको यो हप्ताकै तेस्रो घटना हो।

प्रिमियर लिगमा वुल्भ्ससँग १-१ को बराबरी भएको खेलमा युनाइटेडका २६ वर्षका पोग्बाले पेनाल्टी सदुपयोग गर्न सकेका थिएनन्।

यही हप्ता रिडिङका स्ट्राइकर याकोउ मेटीले पनि पेनाल्टीमा गोल गर्न नसक्दा सामाजिक सञ्जालमा रंगभेदी व्यवहारको सामना गर्नुपरेको थियो। यस्तै लिभरपुलसँगको युइएफए सुपर कपको खेलमा पेनाल्टी मिस गरेपछि चेल्सीका स्ट्राइकर टामी अब्राहमले पनि यस्तै व्यवहार भोग्नु परेको थियो।

अब्राहममाथिको दुव्र्यवहारपछि चेल्सीका प्रशिक्षक फ्रान्क लामपार्डले सार्वजनिक रुपमा नै सामाजिक सञ्जालले त्यस्ता खाले प्रवृत्तिमा निगरानी राख्नुपर्ने बताएका थिए।

तर त्यसको केही दिनमा नै पोग्बामाथि सामाजिक सञ्जालमा त्यस्तै खाले दुव्र्यवहार भइरहेको छ। रंगभेदी व्यवहार गरेका केही ट्वीट हटाइएको छ भने केही सामाजिक सञ्जालमा अझै फैलिरहेका छन्।

रंगभेदी व्यवहारकाविरुद्ध काम गर्ने एउटा संस्थाको रिपोर्टअनुसार गएको सिजन फुटबल खेलाडीमाथि हुने यस्ता व्यवहार ४३ प्रतिशतले बढेको थियो।