यातयात ब्यवसायीको आन्दोलन फिर्ता,मकवानपुरका ६ समितिको बैंक खाता रोक्का

गुगलपाटी संवाददाता मकवानपुर,२४ बैशाख
२४ बैशाख २०७५ ०९:१९

मकवानपुरका ६ वटा यातयात समितिको बैंक खाता सरकारले बन्द गराएको छ । खाता बन्द हुने संघहरुमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ, मकवानपुर ढुवानी व्यवसायी संघ र मकवानपुर पेट्रोलियम डिर्लस एशोसिएसन रहेका छन् ।
यसैबीच यातायात व्यवसायी महासंघको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो । ५ बुँदे सहमतिमा यातायात व्यवसायी सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको सरकारी कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको अन्त्य गर्न सहमत भएका छन् । यस्तै यातायात क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने पनि समझदारी भएको छ ।

यस्तै, एउटामात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानून अनुसार पाउने समझदारी हुनुका साथै सर्वोच्च अदालतको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया पनि सरकारले अघि बढाउने सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुबीर महासेठको उपस्थितिमा हिजो आइतबार मन्त्रालय र यातायात व्यवसायी महासंघबीच भएको छलफलबाट सो सहमति भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।