नेकपा एकताका बाँकी काम अध्यक्ष प्रचण्डको नेतृत्वमा

गुगलपाटी संवाददाता काठमाडौं
५ भाद्र २०७६ ०६:३१

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकताका बाँकी काम अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा टुंग्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएका कारण उपचारार्थ सिंगापुर जानुपर्ने भएकाले पार्टी एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा सक्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको अर्को बैठक प्रचण्डले छिट्टै डाक्ने बताए ।

पार्टी एकता प्रक्रियामा अब सांगठानिक एकताका केही कामहरू बाँकी रहेका छन् । लामो समय विवादमा रहेका विभागहरूको नेतृत्व टुंगिएपछि सहज ढंगले अन्य एकता प्रक्रिया अघि बढ्ने ठानिएको छ ।

प्रधानमन्त्री ओली उपचारका लागि बिहीवार साँझ सिंगापुर प्रस्थान गर्ने तयारी छ । ओली सिंगापुरमा ८/१० दिन बस्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।