म सफल खेलाडी बन्नुमा मेस्सीको पनि हात छः रोनाल्डो
गुगलपाटी संवाददाता एजेन्सीपोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयसम्मका प्रतिद्वन्द्वी लियोनल मेस्सीको प्रसंशा गरेका छन् । रोनाल्डोले आफूलाई उत्कृष्ट खेलाडी बनाउन मेस्सीको पनि सहयोग गरेको बताएका छन् ।
गएको १५ वर्षदेखि रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट स्तरमा रहेका छन् । जसरी पहिले पेले, म्याराडोना, स्टेफानोलाई हेर्ने गरिन्थ्यो, त्यसैगरी नै अहिले रोनाल्डो र मेस्सीलाई हेर्ने गरिन्छ । समग्रमा भन्नुपर्दा अहिलेका उत्कृष्ट खेलाडीको रुपमा यी दुईलाई लिने गरिन्छ । दुवैले समान बालोन डी’ओर जितेका छन् । तर समर्थकहरुमा भने रोनाल्डो र मेस्सीबीच को उत्कृष्ट भनेर सधैं चर्चा भएको पनि देख्न सकिन्छ । यस बारेमा निकै लामो समयदेखि नै विवाद हुँदै आइरहेको छ ।
एक दशकसम्म पालैपालो रोनाल्डो र मेस्सीले बालोन डी’ओर प्राप्त गरे । तर गएको साल भने क्रोएसियाका लुुका मोड्रिचले बालोन डी’ओर जिते । बालोन डी’ओर जित्ने उनी पहिलो क्रोएसियाका खेलाडी हुन् ।
गएको सिजन रोनाल्डो र मेस्सी दुवैले च्याम्पियन लिग गुमाए । बार्सिलोना सेमिफाइनलमा लिभरपुलद्वारा पराजित हुनपुग्यो भने युभेन्टस क्वार्टरफाइनलमा अयाक्सद्वारा पराजित भयो ।
‘टीभीवान’ सँगको अन्तरवार्तामा रोनाल्डोले भने, “मलाई यो कुरामा कुनै शंका छैन कि मेस्सीले मलाई उत्कृष्ट खेलाडी बनाउने कुरामा मेस्सीको पनि हात छ । जब मैले ट्रफीहरु जित्छु तब मेस्सीलाई पीडा हुन्छ । मेस्सीले ट्रफी जित्दा मलाई पनि पीडा हुन्छ । म मेस्सीको करियर र उनको क्लबलाई सम्मान गर्छु, जब मैले स्पेन छाडेँ, यसबाट उनी दुःखी भएका थिए किनभने उनी मलाई प्रतिद्वन्द्वीको रुपमा देख्न चाहन्थेँ ।”
रोनाल्डो र मेस्सी ला लिगामा पनि उत्कृष्ट खेलाडीको रुपमा रहेका थिए । मेस्सी ला लिगाका सर्वाधिक गोलकर्ता हुन् भने रोनाल्डो दोस्रो स्थानमा पर्दछन् । त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् भने मेस्सी दोस्रो सथानमा पर्दछन् ।
रोनाल्डोको युभेन्ट्सले सिरी ए अन्तर्गतको पहिलो खेलमा पार्माविरुद्ध अब आउने शनिबार खेल्नेछन् । यसैगरी मेस्सी पनि आइतबार हुने रियल बेटिसविरुद्धको खेलमा देखिने छन् ।