सञ्चार मन्त्रीको प्रश्न : ‘रहस्यमय बनाउने, उत्तेजना फैलाउने टाइटल हाल्दिने ? यस्तो पत्रकारिता हुन्छ ?’ 

गुगलपाटी संवाददाता काठमाडौं
५ भाद्र २०७६ ११:४५

 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मूलधारको पत्रकारिता र सामाजिक सञ्जाललाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् ।

यूट्युबले उत्तेजना फैलाउने र दिग्भ्रमित पार्ने काम गरेकाले सरकारले यसको अनुगमनमा गम्भीर बहस थालेको उनले बताए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सनसनीपूर्ण हेडलाइन राखेर यूट्युबले अनुसन्धान नै प्रभावित गर्न खोजेको आरोप लगाएका हुन् ।‘
‘निर्मला हत्याकाण्डमा प्रहरीले अनुसन्धान गर्दा प्रहरीले गलत गर्‍यो भन्ने, स्वतन्त्रपूर्वक छानबिन गर्न दिएको छैन,’ यूट्युबारे एक पत्रकारले सोधेको प्रश्नमा मन्त्री बास्का्ेटाले भने, ‘धन्न अस्ति यहाँ सिंहदरबारका कर्मचारीले आत्महत्या गरेको ठाउँमा आउन भ्याएनछन्, आएको भए के–के टाइटल राखेर जुलुसै निकाल्ने अवस्था बनाउने होला ।’

रहस्यमय बनाउने, उत्तेजना फैलाउने टाइटल हाल्दिने ? यस्तो पत्रकारिता हुन्छ ?’ उनले प्रश्न गरे ।
मन्त्री बास्कोटाले मूलधार सामाजिक सञ्जालबाट प्रभावित हुँदैछ कि भन्ने चिन्ता व्यक्त गरे ।