मनहरीका घरहरु गाँजाले बनेका हुन् : मन्त्री जम्मकट्टेल

गुगलपाटी संवाददाता
५ भाद्र २०७६ १४:३६

हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले मनहरी क्षेत्रका घरहरु गाँजा बेचेर बनाएको बताएका छन् ।
बिहीबार हेटौंडामा लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री जम्मकट्टेले अन्य तिव्र आर्थिक वृद्धिको विकल्प नहुँदा गाँजा खेती गर्न बाध्य भएको भन्दै मनहरीका थुप्रै घरहरु गाँजा बेचेर बनाएको बताएका हुन् । उनले लागुऔषध नियन्त्रण ऐन बनाउँदा गाँजा प्रभावित क्षेत्रको तथ्यांक, उक्त क्षेत्रमा गाँजा नियन्त्रण गर्दा पर्ने प्रभावको अध्ययन नगरेको बताएका छन् ।
लागु औषध नियन्त्रण शाखाका प्रमुख नारायण शर्मा दवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका स्थानीय तहहरूको प्रमुख, उपप्रमुख, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख तथा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लागुऔषधको प्रयोग र ओसार(पसार नियन्त्रणमा सरकारले विषेश योजनासहित अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।