प्रहरी र तस्करको गस्ती : सुन,सुन्दरी र मोजमस्ती
गुगलपाटी संवाददाता मकवानपुरसुन, सुन्दरी र मोजमस्ती । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अर्को पाटो हो यो । तस्करीमा संलग्नहरूले फुर्सदको क्षण रसरमाइलोमा बिताउने गरेको प्रहरीले तयार पारेको अभियोगपत्रबाट प्रस्ट हुन्छ । भागबन्डामा परेको रकमलाई उनीहरूले भोगविलासपूर्ण जीवनशैलीमा खर्चेको देखिन्छ ।
त्यतिधेरै परिमाणमा हराएको सुनको खोजी गर्ने क्रममा समेत पूर्वका प्रतिष्ठित होटलदेखि हत्यास्थल मोरङ, उर्लाबारीको जंगलसम्म तस्करहरूले भोज गर्न भ्याएका रहेछन् । ‘दुई वर्षअघि वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० श्यामबहादुर खत्रीले केटीहरूसँग गोप्य कुराकानी गर्न कुनमा ठिक हुन्छ भनेर सोध्दा भाइबररफेसबुकभन्दा अहिले निस्केको डिङ टोन एप्लिकेसन धेरै सुरक्षित हुने सुझाएको थिएँ,’ नायब निरीक्षक ९सई० गजेन्द्र रावलले बयान क्रममा भनेका छन् । मोरङ जिल्ला अदालतमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ अनुरूप दायर अभियोगपत्रमा रावलको बयान समावेश छ ।
अभियोगपत्रमा सुन तस्करी काण्डमा संलग्न भएर फरार रहेका खत्रीले पेसागत मर्यादा एवं अनुशासनलाईसमेत नाघेर सईसँग राखेको जिज्ञासाले उनको रसिक स्वभावको खुलासा हुन्छ । दुई वर्षदेखि खत्रीले सुन तस्करीमा सहयोग पुर्याउनुका साथै विभिन्न रेस्टुरेन्टमा भोज गर्ने गरेको अभियोगपत्रमा उल्लेख छ । आफ्नो अभीष्ट पूरा गर्न अपराध अनुसन्धानमा संलग्न महानगरका हरेक प्रहरीमाथि उनले निगरानी राख्न खोजेको रहस्यसमेत खुलेको छ । ‘खत्री सरले दुई वर्षअगाडि कहिलेकाहीँ मोबाइल फोनको लोकेसन माग्नुहुन्थ्यो तर मैले सुनेको नसुन्यै गरें,’ सई रावलले भनेका छन् ।
तस्करीमा संलग्न मोहन काफ्लेले दुबईबाट आएको सुन एसएसपी खत्रीको कोठामै पुर्याउने गरेको बयान दिएका छन् । चैत २७ मा काफ्लेको उर्लाबारी–४ स्थित घरबाट बरामद भएको पत्रले खत्री र गोरे समूहबीच लेनदेन भएको प्रमाणित हुन्छ । यो पूरा प्रकरणमा नाम जोडिएका नायब निरीक्षक बालकृष्ण सञ्जेलको पनि खत्रीसँगको निकटता अभियोगपत्रबाट खुल्छ । उक्त पत्रअनुसार २०६६ वैशाखदेखि सई सञ्जेल काठमाडौंको हनुमानढोकास्थित महानगरीय अपराध महाशाखामा कार्यरत थिए । दुई वर्षअघि खत्रीकै माध्यमबाट परिचय भएका सुन तस्कर चूडामणि उप्रेती ९गोरे० सँग उनको निकटता बढेको देखिन्छ ।
यो प्रकरणमा पाइलैपिच्छे प्रेमिकाका रूपमा सुन्दरी प्रयोग भएको अभियुक्तहरूको बयानबाट खुल्छ । मुख्य तस्कर भनिएका उप्रेतीले प्रेमिका रक्षा भण्डारीको सहयोग लिएको देखिन्छ । खत्री र गोरेबाहेक तस्करीमा सहयोगी सनम शाक्यसमेत सुन्दरी मोहमा लिप्त भएको देखिन्छ । मोडेल निशा सेन ठकुरीले प्रहरीसँग बयानमा शाक्यसँगको सम्बन्ध सहजै स्वीकारेकी छन् । दुवैबीच २८ साउनमा काठमाडौंको दरबारमार्गस्थित आई क्लबबाट सुरु भएको गफगाफ आत्मीय सम्बन्धमा परिणत भएको रहेछ ।
हत्याअघिसम्म सनमसँग सम्पर्क भइरहेको उनले बताएकी छन् । दुई वर्षदेखि सनम तस्करीमा संलग्न रहे पनि उनको परिवारजन भने उर्लाबारीमा सामान्य जीवन व्यतीत गरिरहेका छन् । तस्करीबाट आर्जित रकम उनले प्रेमिकालाई खुसी पार्नमै सकेको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘सनमले पहिलो भेटमै मेरो फोन नम्बर लिएको थियो,’ प्रेमिका ठकुरीले भनेकी छन्, ‘फोनमा कुराकानी हुन थालेपछि निकटता बढदै गयो ।’ शाक्यकै आग्रहमा उनको काठमाडौं, हाँडीगाउँस्थित कोठामा पुग्ने गरेको र उनका अन्य मित्रलाई समेत चिनेको ठकुरीले बताएकी छन् । दसैंको दुई दिनअघि सनम र उनका साथीहरूसित घुम्दै सुनसरीको धरान र उर्लाबारीसम्म पुगेको उनले निर्धक्क स्वीकारेकी छन् । एक–अर्काबाट टाढा हुँदा पनि दुवैबीच लामो समयसम्म भिडियो च्याट हुने गरेको रेकर्डेड बयानबाटै खुल्छ ।
प्रेमी सनमले मुख्य अभियुक्त गोरेका लागि काम गरिरहेको थाहा पाएपछि केही समय टाढिए पनि सम्बन्ध टुटाउन भने नसकेको उनले बताएकी छन् । जानकारहरू यसलाई मायाभन्दा सुनको कमाइको चमकका रूपमा बुझ्छन् । आफूले पहिलेदेखि चिनेका अन्य तीन युवकले सनमको समूहलाई लुट्ने योजना बनाएको समेत थाहा पाएको उनले बयान दिएकी छन् । तीमध्ये दुई युवकले यो योजनाअघि दरबारमार्गमा महानगरीय प्रहरी अपराध महाशाखाका नायब निरीक्षक मामा भन्ने बालकृष्ण सञ्जेलसँग भेट गराएको ठकुरीले बताएकी छन् । दरबारमार्गको बेक्स एन्ड केक्स पसलमा तीमध्येकै एक जनाले सञ्जेल इन्काउन्टर स्पेसलिस्ट हो भन्दै निशालाई चिनाएका रहेछन् । उनले भनेकी छन्, ‘तर सञ्जेलले लुटको यो योजना सफल नहुँदै गोरेलाई खबर पुर्याएका थिए । सनमको गर्लफ्रेन्ड भन्दै उनले मेरा केही तस्बिर पनि गोरेलाई पठाएका थिए ।’ गोरेको पनि सनमकी प्रेमिकामाथि नजर थियो । सनमले आफूलाई सचेत रहन भनेको उनले बताएकी छन् ।
दसैंपछि सनम पूर्वतिर नै बस्ने गरेको उनले दाबी गरेकी छन् । ‘प्रायस् म नै प्लेनबाट विराटनगर भेट्न जान्थें, उनलाई यो काम नगर्न सम्झाउने गरेको थिएँ,’ उनले भनेकी छन्, ‘तर उनी मलाई यो काम छाड्न केही समय लाग्छ, तत्काल छाड्न मिल्दैन भन्थे ।’ २५ डिसेम्बरमा नेपाल फर्केका सनमलाई लिन विमानस्थल गएको उनले बताएकी छन् । विराटनगर र काठमाडौं जहाँ पुग्दा पनि सनमसँग होटलमा समय बिताउने गरेको उनले निर्धक्क खुलासा गरेकी छन् । २३ जनवरीको राति बागबजारस्थित होटलमा सँगै बसेका बेला सुन लुटियो भन्ने सनमलाई खबर आएको उनले बयान दिएकी छन् । सुन खोज्ने क्रममा गोरेले कामदारलाई कुटपिट गर्न थालेको थाहा पाएपछि सनम पनि पूर्वाञ्चलतिर लागेको निशाले बताएकी छन् । उनले पछिल्लोपटक सुन लुट्ने योजना कसको थियो वा कसले लुट्यो भन्ने अनभिज्ञता जनाएकी छन् ।
‘यस्तैमा २८ फेबु्रअरी बिहान ७ बजेर १ मिनेटमा मलाई कल नगर है, म अब दाइ ९गोरेसँग० हुन्छु, एक महिना लागे पनि आफैं कल गर्छु’, सनमको भनाइ उद्धृत गर्दै ठकुरीले भनेकी छन् । त्यसपछि होलीको सेरोफेरोमा १ र २ मार्चमा आफूहरूबीच संवाद भएको उनले स्वीकारेकी छन् । १९ फागुनमा लाजिम्पाटस्थित निशाको कोठामा सुन कहाँ छ भन्दै प्रहरीले खानतलासी गरेको थियो । केही फेला नपरेपछि प्रहरीले उनलाई अपराध महाशाखा लग्यो । त्यहीं सनमको हत्या भएको थाहा पाएको ठकुरीले बताएकी छन् । महाशाखामै भएका बेला सई सञ्जेलले निशालाई फोन गरेका रहेछन् । ‘सञ्जेल सरले फोन गरेर यो केसको इन्चार्ज हामी हो, टेन्सन नलिनु भन्नुभएको थियो,’ उनले भनेकी छन्, ‘त्यसको एक सातापछि सञ्जेल सर र म दरबारमार्गमा भेट्यौं । सनमकी श्रीमतीलाई फोन गरेर छोरी दिप्सालाई पढाइदिन्छु भनेकी थिएँ ।’
कान्तिपुर दैनिकबाट