झापामा प्रशासकीय अधिकृत निवास र सहकारी भवनमा बम विष्फोट

गुगलपाटी संवाददाता बिर्तामोड
२३ भाद्र २०७६ ०२:४१

आइतबार राति झापाका दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ ।

अर्को विस्फोट बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट भएको हो ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको छ ।  दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया