हात भाँचिएको विरोधमा प्रधानमन्त्री ओली र प्रचण्डको पुतला दहन

गुगलपाटी संवाददाता काठमाडौं
२९ भाद्र २०७६ ०७:३९

नेपाली कांग्रेसका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बाँके कांग्रेस सभापति किरण कोइरालालाई खजुरा गाउँपालिकामा आयोजित जागरण अभियानमा नेकपा कार्यकर्ताले आक्रमण गरी हात भाँचिदिएको विरोधमा आइतबार पुतला दहन गरिएको हो।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लका अनुसार जिल्ला सभापति कोइरालालाई आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कडा भन्दा कडा कारबाही गर्न दबाब दिन कार्यक्रम गरिएको हो।

गत बिहीबार खजुरामा भएको जागरण अभियानमा नेकपा कार्यकर्ताको आक्रमणबाट कोइराला घाइते भएकी थिइन्।

यसअघि शनिबार कांग्रेसले राजधानीको माइतीघरमा उक्त घटनाको विरोध र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको थियो।