किराँत देवास राईको बाग्मतीमा भव्य कार्यक्रम (फोटो सहित)

गुगलपाटी संवाददाता  हेटौंडा
२९ भाद्र २०७६ १०:२२

मकवानपुरको बाग्मती गाउँपालिकामा भव्यताको साथ किराँत देवास राईहरुले कार्यक्रम गरेका छन् । किराँत देवास राई उत्थान समाज नेपालको १५ औं स्थापना दिवसको अवसरमा गाउँपलिकामा विविध कार्यक्रम भएको हो ।

कार्यक्रममा देवास राईहरुको परम्परागत नृत्य, झाँकी पनि प्रदर्शन गरेका थिए । किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय अध्यक्ष अस्मान राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

राईहरुको संस्कृती, आदीवासी जनजातीको विषयहरुलाई समेटेर कार्यक्रममा सांस्कृतिक कार्यक्रम भएको थियो । जनजातीले पहिचान जोगाउनु पर्छ कार्यक्रमको प्रमुख अतिथि बाग्मती गाउँपालिका प्रमुख सर्केश घलानले आदीवासी जनजातीहरुले आफ्नो संस्कृती जोगाउन आफैं लाग्नु पर्ने बताएका छन् ।

उनले प्रदेश सरकारले पनि पहिचान जोडिने गरि प्रदेशको नामाकरणको लागि पहल गर्नु पर्ने भन्दै पहिचान सहितको गणतन्त्र ल्याउन ठुलो संघर्ष गर्नु परेको स्मरण गरेका छन् ।

कार्यक्रममा किराँत आयोख्याका केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पुर्व एसएसपी किवाङ राई, राई गाउँका अगुवा तथा किराँत देवास राई उत्थान समाज नेपालका केन्द्रीय सदस्य प्रमोद राई, आदीवासी पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका प्रदेश पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाग्मती गाउँपालिकाका ९० वर्ष भन्दा माथि उमेर भएका राईहरुलाई सम्मान समेत गरिएको थियो ।