जनसरोकारको विषयमा सहकार्य आवश्यक
गुगलपाटी संवाददाताहेटौंडाः आम नागरिकको जनचासोको मुद्धामा नागरिक समाज र सञ्चारकर्मीहरु सहकार्य आवश्यक रहेको एक कार्यक्रममा बताइएको छ । इन्सेक नेपालको आयोजनामा हेटौंडामा आयोजित “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य बिषयक” अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकको अधिकारका सवालको बिषयमा नागरिक समाज र सञ्चारकर्मीहरुले छुट्टाछुट्टै आवाज उठाउँदै आएकोले प्रभावकारी बन्न नसकेको भन्दै अबका दिनमा त्यस्ता बिषयहरुमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष सरीता दाहालले नागरिकका खाद्य सुरक्षा, स्वास्थ र शिक्षाका क्षेत्रमा सञ्चारकर्मीहरुले विभिन्न बिषयहरु उठान गरेपनि नागरिक समाजका अगुवा संस्थाहरुले चासोका साथ नलिँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । संचारकर्मीहरुले उठान गरेका बिषयवस्तुहरु नागरिक समाजका व्यक्तिहरुले पनि संगै उठान गरे सम्बन्धित निकायको ध्यान जाने र समाधानको लागि पहल हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा नागरिक समाज मञ्चकी संयोजक रमिला सापकोटाले जबसम्म शिक्षा, स्वास्थ र खाद्य सुरक्षाको बिषयमा आम नागरिकले पूर्णता प्राप्त गर्न सक्दैन तबसम्म समाजमा भएका भौतिक विकासको अर्थ नरहने बताउनुभयो । समाजमा जतिसुकै भौतिक विकास भएपनि आम मानिसको विकासका लागि शिक्षा, स्वास्थ र खाद्य सुरक्षा र अधिकार प्रत्याभूत हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी कोक्याप नेपालका उपाध्यक्ष दिपेन्द्र ढकालले विकासका चरणहरुमा अब भौतिक विकास संगै आम मानिसको स्वास्थ, शिक्षा र खाद्य अधिकारको सुनिश्चितताको विकास पनि अनिवार्य रहेको बताउनुभयो । उहाँले अब त्यस्ता बिषयहरुका सवाल र उठान भएका बिषयवस्तुहरुमा नागरिक समाज र सञ्चारकर्मीले आवाज संगै कलम चलाउन आग्रह गर्नुभयो । परिवर्तनशील युवा अभियानका अध्यक्ष तथा पत्रकार अमृत चिमरियाले पत्रकारहरुले उठाएको विषयमा नागरिक समाजको बलियो उपस्थिती भए जनताको समस्या उजागर हुने बताए । इन्सेक नेपाल मकवानपुर जिल्ला प्रतिनिधी पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागीता थियो ।