स्वच्छ मासुको पोस्टरमा सरकारले नै गाईको फोटो राखेपछि भयो विवाद, त्रुटिप्रति विभागले माग्यो माफी

गुगलपाटी संवाददाता काठमाडौं
७ आश्विन २०७६ ०९:०३

पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्‍यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो ।

उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्‍याइएको छैन । स्वच्छ मासु भनिएको पोस्‍टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए ।
विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ । स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले माफी मागेको छ ।