मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे डा. केसीले आन्दोलन गर्ने

गुगलपाटी संवाददाता काठमाडौं
८ आश्विन २०७६ ०९:०२

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुलेको भन्दै विभिन्न कलेजमा विद्यार्थीहरु आन्दोलनमा छन् ।

रकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो । तर मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा त्यो भन्दा बढी शुल्क उठाइरहेका छन् ।

केसीले परासर कोइराला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार विश्वविद्यालयहरुमा नियुक्ति हुनुपर्ने माग गरेका छन् । समितिको मापदण्डबेगर नियुक्ति भएमा मान्य नहुनेसमेत डा. केसीले बताएका छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमडीजीपीको पढाइ तथा शीघ्र एमबीबीएसलगायतका कार्यक्रमको पठनपाठन शुरु गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पुर्‍याउने काम गम्भीरतापूर्वक गर्न पनि डा। केसीको आग्रह छ ।