भिजिट नेपाल र पर्यटन प्रवद्र्धन योजना सँगसँगै : पर्यटन स्टेसन पहिचान गर्दै प्रदेश ३ सरकार

गुगलपाटी संवाददाता हेटौंडा
९ आश्विन २०७६ ०६:२०

प्रदेश ३ सरकारले भिजिट नेपाल २०२० र प्रदेश सरकारको भिजिट २०२०–३० पर्यटन प्रवद्र्धन योजना सँगसँगै अघि बढाएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले भिजिट नेपालसँगै प्रदेश सरकारले तय गरेको १० वर्षे पर्यटन प्रवद्र्धन योजना अघि बढाएको हो ।

मन्त्रालयले प्राथमिकतामा प्रदेश सरकारले तय गरेको योजना समावेश गरे पनि संघीय सरकारसँगको समन्वयमा भिजिट नेपालका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयले कात्तिक मसान्तसम्म भिजिट नेपालको लागि अघि सारिएको योजना पूरा हुने र प्रदेशभित्रका पर्यटन प्रवद्र्धनात्मक क्षेत्रलाई बढी जोड दिइने गरी खाका तयार पारेको छ । मन्त्रालयले कात्तिक र मंसिर मसान्तसम्म तथा नियमित अघि बढाउने योजनासाथ ३५ वटा कार्यक्रम तय गरेर तीव्रता दिइएको सचिव शिवकुमार वाग्लेले बताए ।

भिजिट नेपाल २०२० सँगै प्रदेश सरकारले अघि सारेको प्रदेश भिजिट २०२०–३० का लागि स्थानीय तहसँग सहकार्य गरेर जिरी, चरिकोट, सम्पूर्ण शिवालय, मुडे, प्रदेशभित्रका गढीहरू, दरबार स्क्वायर, सौराहा, कसरा, माडी, लाङटाङ, नगरकोट, धुलिखेल, तातोपानी, जुगल, दामन, इन्द्रसरोवर र पशुपति क्षेत्रलाई मुख्य पर्यटन प्रवद्र्धन क्षेत्रका रूपमा लिएर काम अघि बढाइएको मन्त्रालयका सचिव वाग्लेले जानकारी दिए ।

पहिचान गरिएका पर्यटन स्टेसनमा मन्त्रालयले प्रचारप्रसारलाई विशेष जोड दिएको वाग्लेको दाबी छ । ‘हामीले पहिचान गरिएका स्टेसनमा प्रचारप्रसारलाई जोड दिएका छौँ,’ उनले भने, ‘प्रदेशभित्रका चर्चित पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न थप प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलतर्फ पर्यटकलाई आकर्षित गर्न सकिने मन्त्रालयले लक्ष्य लिएको छ ।’

प्रचारप्रसारको योजना
मन्त्रालयले पर्यटन प्रवद्र्धन र पर्यटक आकर्षणका लागि प्रचारप्रसार योजना तय गरेर काम अघि बढाइएको जनाएको छ । मन्त्रालयको योजनामा पहिचान गरिएको पर्यटन स्टेसनमा फिचरसहितको होडिङ बोर्ड राख्ने, स्थानीय कल्चर समूह गठन, सबै पर्यटकीय स्थानमा पर्यटन ब्रान्ड एम्बेस्डर, सबै विमानमा प्रचारप्रसार सामग्री वितरण, पर्यटन भिडियो उत्पादन, सांस्कृतिक समूह गठन, मायाको चिनो उत्पादन तथा वितरण, प्रमुख पदमार्ग तथा ग्रामको प्रवद्र्धन, होमस्टे प्रवद्र्धन, ठूला स्टार होटल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश स्टल राख्नेलगायत ३५ वटा कार्य समेटिएको छ । मन्त्रालयको योजनाअनुसार काम गर्नका लागि स्थानीय तहलाई प्राथमिकतामा राखेर सरोकारवाला पक्ष, सञ्चारकर्मी, निजी क्षेत्रलाई सहभागिता गराइने सचिव वाग्लेले जानकारी दिए ।

प्रभावकारी बनाउन कार्यविधि
प्रदेश सरकारले भिजिट नेपाल २०२० लाई प्रदेश ३ मा प्रभावकारी बनाउन सहजीकरण गर्ने कार्यविधि निर्माण गरेको छ । योजनाअनुसार काम अघि बढाउन सहज हुने भन्दै मन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकारलाई जानकारी दिइएको जनाएको छ । मन्त्रालयको निर्माण गरेको कार्यविधिमा समिति गठन, क्षेत्र, योजनाअनुसार काम भए नभएको अनुगमन, नियमन गर्नेबारे उल्लेख गरिएको छ । मन्त्रालयले कार्यविधि निर्माणपछि समिति गठन गरिसकेको अवस्थामा संघीय सरकारले पुनः समिति गठन गरेपछि केही समस्या भएको सचिव वाग्लेले बताए ।

एक अर्ब ६५ करोड बजेट विनियोजन
प्रदेश ३ सरकारले भिजिट नेपाल र प्रदेश पर्यटन प्रवद्र्धन योजनाका लागि चालू आर्थिक वर्ष २०७६र०७७ मा १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रको विकास, पुनर्निर्माण, मर्मत–सम्भार, प्रचारप्रसारका लागि एक अर्ब ६५ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले उल्लेख गरेको छ । स्रोत : नयाँपत्रिका