पर्यटन गन्तव्य खोज्दै प्रदेश ३ सरकार
गुगलपाटी संवाददाता मकवानपुरनेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश ३ सरकार नयाँ पर्यटन गन्तव्य खोज्न लागिपरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय गन्तव्यको खोजी, प्रचारप्रसार तथा ब्यवस्थापनको लागि दुई अर्ब ८७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका विभिन्न जिल्लामा पर्यटन प्रवर्द्धन गर्दै भिजिट नेपाल २०२० लाई सफल बनाउन दुई अर्ब ८७ करोड ९५ हजार रुपैयाँ विनियोजन गरेको हो।
मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागी एक अर्ब एक करोड ५३ लाख ९५ हजार र स्थानीय पर्यटन प्रवर्द्वन कार्यक्रमका लागि ५९ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ। मन्त्रालयले पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत उपत्यका क्षेत्रका ३ जिल्ला बाहेक १० वटा जिल्लाका प्रतिजिल्ला एउटा पर्यटकिय गन्तव्य निर्माण गर्ने, प्राचिन गढीहरूको पूननिर्माण गर्ने योजना बनाएको छ।
त्यस्तैगरि रसुवा र सिन्धुपाल्चोकको सीमानामा रहेको गुञ्जला पासमा पैदल मार्ग निर्माण गर्न ३ करोड, जुगल र गौरीशंकर हिमालको परिपथ निर्माणका लागी ५० लाख, १० स्थानमा हिल स्टेशन अन्तर्गत भ्युटावर, बगैचा, विश्राम घर तथा मनोरञ्जन घर निर्माणका लागी दश करोड रुपैयाँ विनियोजन गरेको छ।
शैलुङ् पर्यटकिय क्षेत्रमा पूर्वाधार निर्माणका लागि एक करोड ५० लाख, हेटौंडामा सिटी भ्यु टावर निर्माण गर्न दुई करोड, रुबी भ्याली गणेश हिमाल पदमार्ग निर्माणका लागी २० लाख, होमस्टे सञ्चालन गर्न चाहनेलाई सिप विकास तालिम प्रदान गर्न ३५ लाख छुट्याएको छ।
पर्यटन मन्त्री अरुण नेपालका अनुसार लोकमार्गको किनाराका होटलमा अतिथि सत्कार र सरसफाई गर्न २० लाख, भिजिट नेपाल २०२० प्रदेश पर्यटन दशक २०२० देखी २०३० को प्रवर्द्धनात्मक कार्यक्रमका लागि १० लाख र पर्यटन प्रवर्द्धन राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचारप्रसारको लागी ३५ लाख, सामाजिक सञ्चालबाट प्रचारप्रसार गर्न २० लाख गरि एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुट्याएको हो।
प्रदेश–३ मा स्वदेशी तथा विदेशी पर्यटक धेरै भित्र्याउनका लागि व्यापक तयारी गरिरहेको मन्त्री नेपालले बताए। जुन सुकै देशबाट पनि पर्यटक नेपाल भित्रदा पहिले प्रदेश ३ का पर्यटकिय क्षेत्र भएकाले उनीहरूलाई पहिले स्वागत गर्ने तयारी गरिएको छ। प्रदेश भित्रको पर्यटकिय क्षेत्र काठमाडौं, सौराहा, मकवानपुरको इन्द्रसरोवर, जुगल हिमाललगायतका क्षेत्रमा पर्यटकलाई घुमाउने तयारी गरिएको प्रदेश ३ का मन्त्री नेपालले बताए।
प्रदेशमा भएका पर्यटकिय क्षेत्रको विकास गर्ने र नयाँ पर्यटकिय गन्तव्य निर्माण गर्ने तयारीमा रहेका छौुं, मन्त्री नेपालले भने। संघिय सरकारको अभियान भिजिट वर्षलाई सफल वनाउन प्रदेश सरकारले पनि सक्दो बढी जिम्मेवारी लिएको प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले बताए। ुपर्यटकलाई आकर्षण गर्नु मात्रै ठूलो उपलब्धि हैन, उनीहरूको बसाई लम्ब्याउने, पटकपटक आउने बतावरण सिर्जना गर्न हामी लागिपरेका छौुं, मुख्यमन्त्री पौडेलले भने।
पर्यटक सम्बन्धी मुख्यमन्त्री डोरमणि पौडेल संरक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल अध्यक्ष रहेको प्रदेश स्तरिय समिति बनाएर काम सुरु गरिएको छ। धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि प्रदेश स्तरको समितिको तयारी छ। प्रदेशका एक सय १९ वटै स्थानीय तहमा पर्यटन समिति गठन गरेर काम पनि सुरु गरिएको समितिले जनाएको छ।
पर्यटकलाई धेरै दिनसम्म अड्याउन सक्ने अवस्था नरहेकाले धेरैभन्दा धेरै दिनसम्म भ्रमण गर्न सक्नेगरी तयारी रहेको मन्त्री नेपालले बताए। पर्यटकिय शहरहरूलाई हरेक महिना सरसफाई गर्नेगरी काम गरिँदै छ। स्थानीय सरकार, प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी लगायतकाको सहभागितामा सरसफाईको काम पनि गरिँदै छ।
आज पर्यटन दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको आयोजना, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ब्यवस्थापन तथा विभिन्न सामाजिक संघसंस्थाको उपस्थितिमा जिल्लाका पर्यटकीय क्षेत्रहरूको सरसफाइ गरिने कार्यक्रम छ। स्रोत : नेपाल न्युज