मकवानपुरका नयाँ एसपीलाई सामुदायीकको स्वागत

गुगलपाटी संवाददाता हेटौंडा, बैशाख २७
२७ बैशाख २०७५ ०६:४८

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरले मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठलाई स्वागत गरेको छ । भर्खरै मकवानपुर प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भई आएका श्रेष्ठलाई सामुदायीकले एक कार्यक्रमकाबीच स्वातग गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक श्रेष्ठले प्रहरीको शक्ति भनेकै नागरिक भएकोले नागरिकसँग प्रत्यक्ष सरोकार राखेर आफले काम गर्ने बताए । प्रहरी र नागरिककाबीच पुलको काम गर्ने सामुदायीक सेवा केन्द्रलाई साथमा लिई अघि बढ्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे । प्रहरी उपरीक्षक श्रेष्ठले अपराध न्युनीकरण गर्दै शान्ति सुव्यवस्था कायम गर्न सामुदायिक सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष राम विष्टले नागरिक समुदाय प्रहरीलाई सहयोग गर्न र हातमा हात मिलाएर सहकार्य गर्न तयार रहेको बताए । ‘तर बेलाबेला हुने प्रहरी आचरणमा देखिने समस्या प्रहरी नेतृत्वले सुधार गर्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने ।
कार्यक्रममा हेटौंडा वडा नम्बर–९ का अध्यक्ष लक्ष्मण भण्डारी, कानूनी सल्लाहकार मदन कुमार दहाल, केन्द्रका आजीवन सदस्य, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल सुन काण्डमा मुछिएर तानिएपछि उनको ठाउँमा श्रेष्ठ आएका हुन् ।
संयुक्त चेकिङ सुरु
यसैबीच भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख श्रेष्ठले सामुदायीक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा संयुक्त चेकजाँच सुरु गरेका छन् । बुधबारदेखि सामुदायीक सेवा केन्द्रका सदस्यहरु र प्रहरीको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको रातोमाटेमा संयुक्त सवारी चेकजाँच सुरु गरेका हुन् । उक्त कार्यलाई निरन्तरता दिईने र अन्य स्थानमा पनि संयुक्त चेकजाँच गरिने मकवानपुर प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।