एसपी विकास खनालको सक्रियतामा “विन्दावासिनी एसिड काण्ड” अभियुक्त पक्राउ
गुगलपाटी संवाददाता
हेटौंडाः साँढे ६ वर्ष अगाडी हेटौंडाको ३ मेनरोडकी बिन्दवासिनी कंशाकारलाई तेजाब छ्याप्ने अभियुक्त दिलीपराज केसरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर सार्वजनिक गरेको छ । “विन्दावासिनी एसिड काण्ड”को रुपमा सनसनी मच्चिएको उक्त घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई तेजाब प्रहार गरी विभिन्न स्थानमा लुक्दै भाग्दै गरेका भारत महाराजगंज अमर पसर्वन ६ का दिलीपराज केशरीलाई बारा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विकास खनालको निर्देशनमा प्रहरी नायव निरिक्षक सागर शम्सेर जबराको विषेश टोली सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले केशरीलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको मकवानपुर प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
फरार रहेका केशरीलाई शुक्रबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा कंशाकार आक्रोसित बनेकी थिइन् । उनले रिस थाम्न नसकेपछि पत्रकार र प्रहरीकै अगाडी दिलीपलाई झम्टिन पुगेकी थिईन् । प्रहरीको अगाडी रुँदै झम्टिन पुगेपछि आफन्त र प्रहरीले उनलाई समातेर शान्त बनाएका थिए । उनले केशरीलाई फासीको सजाय दिन माग गरिन । युवतीमाथि तेजाब प्रहार गरेर फरार रहेका केशरी पक्राउ परेसँगै प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको मकवानपुर प्रवक्ता यज्ञ भट्टराईले जानकारी दिए । उनलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।