सीमा बिवाद बार्ताको माध्यमबाट समाधान गरिनुपर्छ : देउवा
गुगलपाटी संवाददाता
हेटौंडा
पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतसँगको सीमा बिवाद बार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘सबै राजनीतिक दलको साथ बर्तमान सरकारलाई रहेको छ, सीमा बिवाद समाधानमा सरकारको भूमिका कस्तो हुन्छ हामीले हेरिहरेका छौं’, उनले भने । साथै सीमा विवाद रहेको क्षेत्र कालापानी नेपाली भु–भाग र लिपुलेक त्रिदेशीय विन्दु भएकाले नेपाल, चिन र भारतबीच त्रिपक्षीय बार्ता हुन सके अझै राम्रो हुने देउवाको भनाई छ । सभापति देउवाले भारत वा चिनसँग ऋण लिएर रेल बनाउनु फाइदा नहुने समेत बताए ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना प्रमाणहरु पेश गरेर भारतसंग सरकारले सीमा विवाद समाधान गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री केपि शर्मा ओलीलाई सीमा विवाद समाधानमा साथ दिने कांग्रेसले प्रतिवद्धता गरिसकेकाले हामी सरकारको भूमिका हेरिरहेका छौं’,उनले भने ।
प्रशिक्षण कार्यक्रममा उपसभापति बिमलेन्द्र निधी, महामन्त्री सशांक कोइराला, नेता रामशरण महत लगायतले बोलेका थिए । २ दिने प्रशिक्षणमा ३ नम्बर प्रदेशका ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको छ ।