मुख्यमन्त्री पौडेलद्वारा गौरीटार रंगशाला अवलोकन
गुगलपाटी संवाददाता२२ मंसिर २०७६ १२:२०
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गर्नुभएको छ ।
प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्त्वपूर्णका साथ हेर्नुभएको थियो । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि बढेको छ। अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिनुभयो । यही बर्ष फुटबल, कृकेट खेलका लागि मैदान तयार हुने गरि काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । “देशकै उत्कृष्ट खेल मैदान बनाउने लक्ष्य छ”- उहाँले भन्नुभयो ।
‘प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ । हाल धमाधम फुटबल चौरको काम भैरहेको छ भने पुस महिनाभित्र दुबो समेत रोपिसक्ने लक्ष्य रहेको समितिको भनाई छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।
२३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण पनि भइसकेको छ। ।प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ।