बागमती प्रदेश सर्बसहमत, स्थान हेटौंडा र काभ्रे दर्ता
गुगलपाटी संवाददातासंघिय राजधानी समेत रहेको तीन नम्बर प्रदेशको नाम बागमती प्रदेश हुने पक्का भएको छ । शनिबार बिहान ९ देखि ११ बजेसम्म प्रदशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले समय तोकेकोेमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको हो ।
प्रदेशसभामा दर्ता भएको बागमती नामको प्रस्तावक नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन् ।
प्रदेशको स्थायी राजधानी तोक्न दुईवटा नाम प्रदेशसभामा दर्ता भएको छ । प्रदेश सभामा नेकपा ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस प्रदेश ३ का नेता इन्द्र बानियाँ, राप्रपाकी रिता माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी हेटौंडा राख्न प्रस्ताव दर्ता गरेका छन् । प्रदेश राजधानी काभ्रेको धुलिखेल हुनुपर्ने भन्दै विवेकशील साझा पार्टीका रमेश पौडेल प्रस्तावक, शोभा शाक्य र विराजभक्त श्रेष्ठ समर्थक रहेर अर्को प्रस्ताव दर्ता भएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूची १ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न आब्हान गरेका थिए ।
भोली आइतबार प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यहरुले बर्णानुक्रम अनुसार हुन्छ र हुँदैन भन्ने दुई लाईनमा दस्तखत सहितको मत बिभाजनपछि दुबै नाम र राजधानीबारे मतदान प्रक्रियाबाट टुङ्गो लाग्ने सभामुख श्रेष्ठले जानकारी दिए ।