सुशासनमा लाग्नुपर्ने सांसदहरुको भनाई
गुगलपाटी संवाददाताहेटौंडाः बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले सुशासन मुखमा नभई व्यवहारमा लागुहुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले यस्तो बताएका हुन् ।
उनीहरुले भ्रष्टाचारको जालो हरेक क्षेत्रमा रहेको भन्दै यसको न्यूनिकरणमा जोड दिन प्रदेश सरकारले काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा न्हुक्षेनारायण श्रेष्ठ, सिर्जजना सैज्यु, रत्न ढकाल, रिना गुरुङ, विजया श्रेष्ठ केसी, शान्तिप्रसाद पौडेल, रमेश पौड्याल, रिता माझी, विराजभक्त श्रेष्ठ लगायतले नीतिगत भ्रष्टाचार बढिरहेको भन्दै यसलाई रोक्नु आवश्यक रहेको बताएका थिए । उनीहरुले कर्मचारी संयन्त्रलाई जवाफदेही बनाउन सकेमात्रै पनि सुशासन काम गर्न सहयोग पुग्ने बताएका थिए । विकास बजेट खर्च समेत नभईरहेको अवस्थामा जनताले कसरी सुशासनको महसुस गर्ने भन्दै सांसदहरुले प्रश्न गरेका छन् । राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रतामा भ्रष्टाचार बढि हुने गरेको सांसदहरुको भनाई छ ।
त्यसैगरी, उपाध्यक्ष नियुक्तिका लागि ल्याईएको प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल पनि सकिएको छ ।