रेडियो र सहकारीको सप्ताव्यापी कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता
१९ माघ २०७६ १३:२७

हेटौंडा: हेटौंडामा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं स्थापना दिवस तथा सहकारीद्धारा सञ्चालित रेडियो मकवानपुरको १० औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभा सदस्य विजया केसी, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाइँ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्साल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, दिव्यतारा सहकारीका उपाध्यक्ष डा.गणेश बल लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

दिव्यताराका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यसले निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता थियो ।

कार्यक्रममा दुई दशकदेखि दारी कपाल काट्ने पेशा गर्दै आएका हेटौंडा–७ का किरण अधिकारी र लामो समयदेखि कृषि पेशा गर्दै आएकी मनहरी गाउँपालिका––६ सुनाचुरीका फूलमाया तामाङलाई नगद सहित सामुदायिक सम्मान–२०७६ प्रदान गरिएको छ । रेडियो मकवानपुरले स्थापनाकालदेखि नै बार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको सामुदायिक सम्मान अधिकारी र तामाङलाई प्रदान गरिएको हो । दुवैजनालाई नगद १० हजार राशीसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै उत्कृष्ट कर्मचारीको रुपमा रेडियो मकवानपुरका बजार व्यवस्थापक तथा कार्यक्रम प्रस्तोता शान्ति सुनारलाई सम्मान गरिएको थियो । उनलाई नगद ७ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।
सप्ताव्यापी रुपमा विभिन्न कार्यक्रम गरेको बेला पुरस्कृत हुनेलाई पुरस्कार वितरण समेत गरिएको थियो ।