‘युवाको ऊर्जालाई समयमै सदुपयोग गरौँ’
गुगलपाटी संवाददाताहेटौंडाः सरोकारवालाहरूले नेपालसँग भएको युवाको ऊर्जालाई समयमै सदुपयोग गर्नका लागि सरकारलाई आग्रह गरेका छन्। जनसंख्याको अधिक बाहुल्यता रहेको नेपालले युवाहरूको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा युवाहरूलाई प्रोत्साहन विषयक एक कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
सरकारले युथ भिजन २०२० पारित गरिसकेको र भिजन २०२० मा उल्लेख गरिएअनुसार युवाहरू प्रतिस्पर्धी, स्वाबलम्वीसमेत हुँदा हरेक क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वदायी भूमिका दिनेतर्फ सरकारको विशेष जोड हुनुपर्ने उनीहरूको भनाइ छ। ‘युवा र अर्थतन्त्र’, ‘युवाहरूमा देखिन सकिने नैराश्यताको निराकरण’, ‘व्यक्तित्व विकास’,’सामाजिक अपराध र निराकरणमा युवाहरूको भूमिका’, ‘नेतृत्व, नवीनता र उद्यमशीलता’ लगायतका विषयमा छलफल गरिएको हो।
युवाहरूलाई नेपालको विकासको महत्वपूर्ण आधारका रूपमा हेरिएकोले यो अवसरलाई समयमै सदुपयोग गर्न सकिएन भने धेरै अवसरहरू गुम्नेतर्फ सरकारको ध्यानाकर्षण युवाले गराएका छन्। कार्यक्रममा महासंघको सामाजिक सेवा फोरमका सभापति जय सिवाकोटीले युवाहरूमा रहेको सम्भाव्यताको उजागर गरेर उत्पादनमुलक क्षेत्रका केन्द्रित गर्नुपर्ने बताए ।
स्रोतः थाहाखबर