अलपत्र बन्यो टेलिकम धादिङको भवन

गुगलपाटी संवाददाता
२२ माघ २०७६ ०६:१७

 हेटौंडाः निर्माण कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकम धादिङको भवन निर्माण कार्य शुरु भएको ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। निर्माणको जिम्मा पाएको कम्पनीको लापरवाहीले भवन निर्माण कार्य एक वर्ष अघिदेखि ठप्प हुन पुगेको छ। नेपाल टेलिकम धादिङको भवन निर्माण गर्न चाँदनीरराम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो।

२०७१ साल बैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नु पर्ने भए पनि हालसम्म भवनले पूर्णता पाएको छैन। कुल २ करोड २ लाख ४८ हजार ७८९ रुपैयाँ ७८ पैसामा सम्पन्न गर्ने सम्झौता गरेर निर्माण शुरु गरिएको भवनको ३ वर्ष अघि ३ ढलानको काम भए पनि त्यसबाहेक अरु केही काम अघि नबढेको दूर संचार कार्यालय धादिङले जनाएको छ। निर्माण कार्य अधुरो बनाएर छाडेको कारण भवनको संरचना जीर्ण बन्दै गएको छ। निर्माण सामग्रीहरू जताततै छरिएका छन्। करिव १ सय बोराको सिमेन्ट चाङ लगाएर राखिएको अवस्थामा कामै नलाग्ने गरी सडिसकेको छ। सिमेण्ट मात्रै होइन रड तथा चुरी तार पनि निर्माणाधीन भवनको चौरभरि यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ।

निर्माण कार्य छाडेर हिंडेको ठेकेदार कम्पनी काममा फर्केर नआइदिँदा समस्या भएको हो। भवन निर्माण अलपत्र पारेर गएको ठेकेदार कम्पनीले दूर संचार क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरबाट म्याद थप गरिरहेको जानकारी आएको टेलिकम धादिङका एक कर्मचारीले वताए। भवन निर्माण हुन नसकेको वारेमा क्षेत्रीय निर्देशनालय, केन्द्रीय कार्यालय तथा अन्य सरोकारवाला निकाय जानकार भए पनि काममा ढिलासुस्ती गर्ने ठेकदार कम्पनीलाई कारवाही गर्ने तर्फ कोही अग्रसर नदेखिनुले ठेकदारको पहुँच धेरै वलियो भएको हुन सक्ने ती कर्मचारीको अनुमान छ। नेपाल टेलिकम धादिङको निर्माणाधीन भवन अलपत्र अवस्थामा रहेको छ भने टेलिकमले २०७० सालदेखि पुरानो कार्यालय नजिकै मासिक ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले बताए। घर बन्ला र कार्यालय सारौला भन्दा भन्दै वर्षौ भाडाको घरमा बस्नु पर्ने अवस्था देखिएको कार्यालय प्रमुखको भनाई छ। क्षेत्रीय निर्देशनालयबाट निर्माण सम्झौता भएको हुँदा जिल्लास्थित कार्यालयसँग ठेकेदार कम्पनी जवाफदेही नदेखिएको कर्मचारी बताउँछन्। शुरुमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ घर भाडामा लिएको टेलिकमले वर्षेनी म्याद थप्नु परेको छ। यता घर धनीले आफूलाई घर चाहिएको भन्दै छाड्दिन पटक पटक अनुरोध गरे पनि विकल्प नहुँदा समस्या बढ्दै गएको कार्यालय प्रमुख कटुवालले वताए। दूर संचार कार्यालयको आफ्नो सुविधा सम्पन्न भवन नहुँदा टेलिकमको सेवा तथा सुविधामा धेरै समस्या बढ्दै गएको छ। नयाँ सेवा विस्तार गर्न समस्या भएको कटुवाल बताउँछन्। कार्यालयमा आवश्यक उपकरण राख्ने ठाउँको अभाव हुँदा गुणस्तरीय सेवा दिन नसकिएको टेलिकमको भनाई छ।
स्रोतः थाहाखबर