जसले छ सय बढि बिपन्न बालवालिकालाई बोर्डिङमा निशुल्क पढाए
गुगलपाटी संवाददाता हेटौंडा,३१ वैशाखनिजी विद्यालयले चर्को शुल्क अशुल्दा गरिब र बिपन्न बालवालिकाहरुले नीजि विद्यालयमा अध्ययन गर्ने अवसर पाउन मुश्किल छ । तर हेटौंडाका एक नीजि विद्यालयले भने छ सय बढि बिपन्न र असाहय बालवालिकालाई निशुल्क शिक्षा प्रदान गरेको छ ।
हेटौंडा १० स्थित सोलिड्यारिटी इन्टरनेशल बोर्डिङ स्कुलले आफैले स्रोत जुटाएर बिपन्न बालवालिकालाई पढाउँदै आएको हो । ‘विद्यालय स्थापनाको समयदेखि नै हामीले बिपन्न र असाहय बालवालिकाहरुलाई पढाउँदै आएका छौं’, विद्यालयका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले भने, ‘एकसय दश जना दलित, जनजाति र बिपन्न वर्गका छात्रछात्राहरुलाई आवासीय सुविधा सहित छात्राबासमा राखेर पढाईरहेका छौं ।’ सरकारी नियम अनुसार कुल विद्यार्थीको दश प्रतिशतलाई छात्रबृत्ति दिनुपर्ने भएपनि हाल दुईसय १० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको उनले जानकारी दिए । विद्यालयमा १७ सय विद्यार्थी अध्ययनरत छन् ।
सोलिड्यारीटीबाट छात्रबृत्ति पाएर अध्ययन गरेकामध्ये शिक्षक, नर्स, डाक्टर, इन्जिनियर र अन्य पदमा कार्यरत रहेका छन् । ‘ती विद्यार्थीरुले सम्झिँदा खुशी लाग्छ’, आचार्यले भने, ‘बिहान बेलुका खान समेत समस्या रहेको परिवारले पढाउन सक्ने अवस्था थिएन, हाम्रो सम्पर्कमा आएका र क्षमताले भ्याएका सबैलाई निशुल्क शिक्षा दियौं । यो अभियान जारी नै छ ।’
२०४९ साल पौष २० गते स्थापना भएको निजी विद्यालय सोलिड्यारीटी २०६० सालदेखि शैक्षिक गुठीमा परिणत भएको हो । विद्यालयका संस्थापक अध्यक्ष आचार्यले नै नीजी विद्यालयको हेटौंडा १० मा रहेको एक बिगाह सात कठ्ठा जमिन र अन्य चल अचल सम्पत्ति गुठीमा दान गरेका थिए । ‘विशुद्ध शिक्षा क्षेत्रमा सेवा गर्ने उदेश्यले नीजि सम्पत्तिलाई गुठिमा परिणत गरेर हामीले काम गरेका हौं’, विद्यालयका संस्थापक निमटोलमा आचार्यले भनिन्, ‘विद्यालय सञ्चालनबाट आएको आम्दानीको करिब ८० प्रतिशत रकम शिक्षकको तलवमा खर्च हुन्छ, बाँकीले विद्यालयका अन्य भौक्तिक पूर्वाधार र शैक्षिक सुधारका काम गरिरहेका छौं ।’ सोलिड्यारिटी सार्वजनिक शैक्षिक गुठीमा ऋषिराम आचार्य, निमटोलमा आचार्य, रत्नराज आचार्य, रिना आचार्य र चक्र बहादुर राई सदस्य रहेका छन् ।
६४ जना शिक्षक कार्यरत रहेको सोलिड्यारीटी जिल्लामा नै राम्रो सेवा सुविधा दिने नीजि विद्यालयमा पर्छ । मावि तहका शिक्षकलाई ४० हजार रुपैयाँ मासिक पारिश्रमिक दिँदै आएको विद्यालयले न्युनतम १९ हजार भन्दा बढि पारिश्रमिक दिएको प्रिन्सिपल रिना आचार्यले बताईन् । ‘शैक्षिक सुधारसँगै शिक्षक कर्मचारीको सेवा सुविधापनि हामीले बढाउँदै लगेका छौं’, उनले भनिन्, ‘यही वैशाखदेखि विद्यालयले तोकेको सुविधा बाहेक तलवको ५ प्रतिशत र कर्मचारीको ५ प्रतिशत गरी १० प्रतिशत उपदान कोषमा राख्ने र हालसम्म विद्यालयले तोकेको रकम उक्त कोषमा क्रमशः जम्मा गरिरहेका छौं ।’