बालुवा उद्योगको अनुगमन, अधिकांश नविकरण भएका छैनन्

गुगलपाटी संवाददाता
२२ माघ २०७६ १३:१०

कुमारी स्याङ्बो
हेटौंडा ः ढुङ्गा, गिट्टी, बालुवा सम्बन्धि जिल्ला अनुगमन समितिले बुधबार ५ वटा उद्योगमा अनुगमन गरेको छ । समिती संयोजक एवं जिल्ला समन्वय समितीको प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा हेटौंडा उपमहानगरपालिका तथा आसपासको क्षेत्रमा रहेका खोला खहरेभित्र उत्खननका लागि भएका गतिविधीहरु र नदी खोला खहरे तथा क्रसर उद्योग र बालुवा उद्योगहरुको सञ्चालनको अवस्थाको प्रगति सम्बन्धमा अनुगमन भएको हो ।
अनुगमनको क्रममा हेटौंडा ८ दाजुभाई बालुवा प्रशोधन उद्योग अनुगमन गर्दा उद्योग दर्ता नविकरण नभएको पाइएको छ । उद्योगहरुलाई आफ्नो कम्पनीको कारोबारको विवरण ३ दिन भित्र जिल्ला समन्वय समितिमा बुझाउन समितिले जनाएको छ । यस्तै अनुगमनकै क्रममा हेटौंडा ५ शान्तिनगर मा रहेको समृद्ध बालुवा प्रशोधन उद्योग दर्ता भएको तर नविकरण नभएको पाईएको छ । कम्पनी नविकरण गरे पछि मात्र कम्पनी सञ्चालनमा ल्याउने प्रशासक जिल्ला अधिकृत नारायण प्रसाद भट्टले जानकारी दिए । व्यवसायीमा सरकारको मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्नुपर्ने भट्टले बताए । हेटौंडा १६ को जगदम्बा बालुवा उद्योगमा अनुगमन गर्दा उद्योग दर्ता भएको तर नविकरण भने नभएको भेटिएको छ । यस्तै हेटौंडा ६ को जयशंकर बालुवा प्रशोधन उद्योगमा अनुगमन गर्दा उद्योग नविकरण भएको छैन । उद्योग नविकरण गर्नुपर्ने र नविकरण नभएसम्म उद्योग सञ्चालनमा नल्याउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा भइरहेको अनुगमन केहि दिन देखि जारी छ । ढुंगा, गिट्टी, बालुवा उद्योगमा जिसस मकवानपुरले अनुगमनलाई तिव्रता दिईरहेको छ ।
अनुगमनमा जिल्ला समन्वय समितिको उप–प्रमुख भगवती पुडासैनी, प्रहरी उपरिक्षक सुशिल सिहं राठौर, डिभिजन वन कार्यालयको प्रमुख इमनाथ पौडेल तथा घरेलु कार्यालयको प्रमुख जगन्नाथ दाहाल लगायतको उपस्थिती रहेको थियो ।